काठमाडौं, वैशाख १३ । नेपालगञ्ज विमानस्थलमा नयाँ टर्मिनल भनव निर्माण गरिने भएको छ । नेपालगञ्ज विमानस्थलको पुरानो संरचनाले हवाई यात्रुलाई नधान्ने भए सँगै नेपाल नागरिक उडयान प्राधिकरणले विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणको तयारी अघि बढाएको हो । प्राधिकरणले परामर्शदाता नियुक्ती तथा डिजाइनको काम गरिसकेको तथा टर्मिनल भवन निर्माणको लागि निर्माण व्यवसायीको छनौट कार्य भइरहेको जानकारी दिएको छ । यसका लागि प्राधिकरणले तीन अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको प्राधिकरणका प्रवक्ता एवं उपमहानिर्देशक राजकुमार क्षेत्रीले बताउनु भयो ।
सन् २०४० सम्मको विमानस्थलमा हुने चापलाई धान्नको लागि निर्माण गर्न लागिएको नयाँ बन्ने टर्मिनल भवन भने तीन तलाको हुने बताइएको छ । प्राधिकरणले सन् २०४० सम्ममा नेपालगञ्ज विमानस्थल प्रयोग गर्ने हवाई यात्रुको संख्या २० लाख पुग्ने प्रक्षेपण गरेको छ । निर्माण व्यवसायीको पूर्व योग्यता छनौटको काम गरिरहेको प्राधिकरणले व्यवसायी छनौट पछि टेन्डरमा सहभागी हुन पाउने व्यवसायीको सूची सार्वजनिक गर्ने जनाएको छ । यसरी टेन्डरमा सहभागी हुने व्यवसायीको सूची सार्वजनिक गरी उनीहरुलाई टर्मिनल भवन निर्माणको लागि टेन्डर राख्न पाउनेछन् । यसका साथै प्राधिकरणले यो आर्थिक वर्षभित्र निर्माणका लागि खरिद प्रक्रिया सम्पन्न गर्ने तयारी गरेको छ ।
नयाँ टर्मिनल भवन चार हजार चार सय ३८ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने बताइएको छ भने विमानस्थल भने एक सय ६६ बिघामा फैलिएको छ । पश्चिम नेपालको हब मानिने नेपालगञ्ज विमानस्थलमा हाल भने धावनमार्ग विस्तारको काम भइरहेको छ । नेपालगञ्ज विमानस्थलको क्षमता विस्तार गर्नका लागि बनेको गुरुयोजनाअनुसार पछिल्ला दिनमा १५ सय मिटर लामो रहेको धावनमार्गमा २ सय मिटर विस्तारको काम भइरहेको छ । यसका साथै जहाज पार्किङ गर्न ठाँउ (एप्रोन) निर्माण गरिदैछ जहाँ छ वटा एटिआर ७२ जहाज राख्न सकिन्छ ।
प्राधिकरणले उडान संख्या र हवाई यात्रु बढ्दो क्रममा रहेको हुदाँ विमानस्थल टर्मिनल भवन निर्माणलाई अघि बढाएको हो । विमानस्थलका अनुसार नेपालगञ्ज विमानस्थलमा गएको पाँच वर्षमा उडान संख्या र यात्रुको संख्यामा बृद्धि भएको छ । सन् २०१९ मा करिब १५ हजार उडान संख्या र साढे चार लाख यात्रुले विमाननस्थल हुदै हवाई यात्रा गरेका थिए । पछिल्लो समय भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भौतिक संरचना निर्माण करिब सकिएको उक्त विमानस्थलको भौतिक प्रगति ९५ प्रतिशत रहेको छ भने २०२१ बाट सञ्चालनमा ल्याउने प्राधिकरणको योजना समेत रहेको थियो । तर, कोभिड १९ महामारीका कारण प्राविधिक तथा उपकरणको अभावले गर्दा विमानस्थल सञ्चालनमा ढिलाई भइरहेको पाईन्छ ।