काठमाडौं भदौ ३० । नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट्सले खल्ती तथा इ सेवाले बजार पिटिरहेका बेलामा बल्ल डिजिटल वालेट ल्याएको छ । ढिलो गरि आएको यस्तो वालेटका बारेमा आमजनतालाई जानकारी दिन भने नेपाल डिजिटल पेमेन्ट्स कम्पनी चुकेको छ ।
आवश्यक तयारी बिना हतारमा लन्च गरिएको हुनाले कम्पनीले आमसञ्चारलाई पनि नबोलाई सुटुक्क लन्च गरेको जानकारी दिएको छ । ९ वटा बैंक बाहेक अरु कसैसँग आवद्ध हुन सकेको छैन ।
मंगलबारदेखि इन्टरनेट बिना नै चल्ने वालेट सेवा सुरु गरेको भनिए पनि त्यसबाट के के सुविधा लिन सकिन्छ भनेर खासै जनाकारी गराएको छैन । कि प्याड मोबाइलबाटै बिजुली तथा पानीको महसुल तिर्न सकिने बताइएको छ । यसैका आधारमा मात्रै वालेट चल्ने संभावना छैन ।
मोबाइल नेटवर्क भएको कुनैपनि स्थानबाट अहिले जसरी एउटा मोबाइबाट अर्काेमा ब्यालेन्स ट्रान्सफर गरिन्छ त्यसैगरि नै युएसएसडी कोडको सहायतामा बिल तिर्न सकिने कम्पनीले जनाएको छ । तर, यस्तो वालेटमा पैसा भने अहिलेको रिचार्ज कार्डबाट भने राख्न मिल्दैन ।
तर टेलिकमले समयानुकुल सेवा विस्तार गर्न नसक्दा र व्यवस्थापनको कमजोरीका कारण गत तिन वर्षमा मात्रै नाफा १० अर्ब गुमाएको छ । बिस्तारित फोर जि सबै ठाउ नचल्ने समस्या त छदैछ त्यसका कर्मचारीले मर्मतका काम समयमै अघि नबढाउँदा टेलिकमको नाफा ओरालो लागेको हो ।
४ वर्ष अघिसम्म टेलिकमको नाफा प्रत्येक वर्ष बढ्दो क्रममा थियो । आर्थिक वर्ष २०७३/०७४ मा १५ अर्ब ३७ करोड नाफा कमाएको टेलिकमले लगत्तै अर्को वर्ष नाफा १७ अर्ब ४८ करोड पुर्यायो । तर गत आर्थिक वर्ष उसको मुनाफा ७ अर्ब ४५ करोड रुपैयाँमा सीमित भएको छ । अर्थात चार वर्षमा उसको मुनाफा ५७ प्रतिशतले खुम्चिएको हो ।
महालेखा परीक्षकको कार्यालयले आफ्नो ५८ औं वाषिर्क प्रतिवेदनमा टेलिकमले उच्च गतिमा इन्टरनेट चलाउन सकिने फोरजी र एफटिटिएच समयमा विस्तार गर्न नसकेकाले आम्दानीमा व्यापक गिरावट आएको उल्लेख गरेको छ । करिब २० अर्बको लागतमा अगाडि बढाइएको फोरजी सेवा विस्तारको काम गत फागुनमा सक्नुपर्नेमा अझै सकिएको छैन ।
२०६७ मा अघि बढाइएको असीमित डाटा ट्रान्सफर गर्ने फाइबरमा आधारित एफटिटिएच सेवा पनि टेलिकमले पूर्णरुपमा विस्तार गर्न सकेको छैन । ग्राहक संख्या बढ्दै गएपनि टेलिकम व्यवसाय आक्रामकरुपमा विस्तार गर्न चुकेको छ ।
विस्तारित सेवाको गुणस्तरमा कमजोरी र मर्मत सम्भारमा ढिलासुस्ती पनि टेलिकमको कमाइ घट्नुका कारण हुन् । भ्वाइस कलको व्यापार खस्किएकाले विश्वका अधिकांश टेलिकम कम्पनी डाटा विजनेशमा केन्द्रित भएका छन् । तर टेलिकम व्यवस्थापनले डाटा बिजनेसलाई व्यापक बनाउन सकेको छैन ।