काठमाडौं, भदौ ३१ । आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा बढी आयकर नेपाल धितोपत्र विनिमय बजार लिमिटेड (नेप्से) , नेपाल दूरसञ्चाकर कम्पनी लिमिटेड र सूर्य नेपालले सरकारलाई बुझाएका छन्। आर्थिक वर्ष ०७७/७८ मा १० ठूला कम्पनीले ४५ अर्ब २७ करोड रुपैयाँ आयकर बुझाएकोमा सबैभन्दा बढी माथिका तीनवटा कम्पनीको रहेको आन्तरिक राजस्व विभागले जानकारी दिएको छ।
आर्थिक वर्ष २०७७/०७८ मा कुल आयकर दुई खर्ब ८१ करोड ५१ लाख रुपैयाँ संकलन भएको छ । जसको २२ दशमलव ५ प्रतिशत आयकर १० वटा कम्पनीले बुझाएका छन्।आर्थिक वर्ष २०७७/०७८ नेप्सेले १५ अर्ब ६६ करोड ८६ लाख आयकर बुझाएको छ।
आर्थिक वर्ष २०७७/०७८ मा नेपाल टेलिकमले पाँच अर्ब ५१ करोड र एनसेलले चार अर्ब ४३ करोड आयकर बुझाएका छन् । त्यस्तै, उत्पादन क्षेत्रका सूर्य नेपालले पाँच अर्ब २३ करोड र गोर्खा ब्रुअरीले एक अर्ब ८८ करोड आयकर बुझाएका छन् । आयकर बढी बुझाउनेमा चारवटा बैंक समेत रहेका छन्। नबिल बैंक, नेपाल विद्युत् प्राधिकरण, एनआइसी एसिया बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंकले आयकर बढी बुझाएका छन्।
विभागका अनुसार नबिल बैंकले तीन अर्ब २० करोड, एनआइसी एसियाले दुई अर्ब ५५ करोड, ग्लोबल आइएमई बैंकले दुई अर्ब १४ करोड र कृषि विकास बैंकले एक अर्ब ९१ करोड रुपैयाँ आयकर बुझाएका हुन् । सबैभन्दा बढी कर बुझाउने दश कम्पनीको सूचीमा नेपाल विद्युत् प्राधिकरण पनि रहेको छ । प्राधिकरणले दुई अर्ब ७१ करोड रुपैयाँ आयकर बुझाएको हो ।
आर्थिक वर्ष ०७७/७८ मा सरकारले दुई खर्ब ३८ अर्ब रुपैयाँ आयकर संकलन गर्ने लक्ष्य राखेकोमा सो लक्ष्य भने पुरा हुन सकेको छैन । आर्थिक वर्ष ०७७/७८ मा लक्ष्यभन्दा करिब ३८ अर्ब रुपैयाँ कमी आयकर उठेको छ । असार मसान्तसम्ममा दुई खर्ब ८१ करोड आयकर संकलन भएको विभागको अपरिष्कृत तथ्यांक छ । त्यसअघि आव ०७६/७७ मा दुई खर्ब १९ अर्ब रुपैयाँ आयकर राजस्व उठेको थियो । कोभिडका कारण अर्थतन्त्र चलायमान हुन नसक्दा आयकर संकलनमा समेत असर परेको देखिन्छ।