Kath Khabar
अक्सिजन प्रयोग हुने उद्योगधन्दा बन्द गर्न आग्रह 

काठमाडौं, वैशाख १३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन प्रयोग हुने उद्योगधन्दा केहि समयको लागि बन्द गरिदिन आग्रह गरेको छ । 
कोरोना बढेसँगै मन्त्रालयले अक्सिजन प्रयोग हुने उद्योगधन्दा केहि समयका लागि बन्द गर्न वा बन्द गर्न नसकिने अवस्था भएमा निकै कम खपत हुने गरी प्रयोग गर्न आग्रह गरेको छ । उसले यसको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै उद्योग बन्द गरिदिन वा कम खपत गर्ने वातावरण तयार गरी दिनको लागि आग्रह गरेको हो । 
मन्त्रालयका वरिष्ठ सहायका डा. समीर कुमार अधिकारीले पछिल्लो समय कोरोना महामारीका कारण भारतमा सिर्जित समस्या नेपालले पनि भोग्नु नपरोस् भनि अक्सिजन प्रयोग गर्ने उद्योग बन्द गर्नका लागि आग्रह गरिएको बताए । भारतमा पछिल्लो समय कोरोना संक्रमितले अक्सिजनको अभाव झेल्नु परेको छ । बिबिसी हिन्दीका अनुसार भारतमा आगामी दिनमा १५ सय देखि १६ सय टन आवश्यक पर्ने भए पनि उक्त माग पुरा गर्न कठिन हुने बताइएको छ । 
‘अक्सिजनसहित अक्सिजन सिलिण्डरको कालोबजारी, विदेश पैठारी भई स्वदेशमा अप्ठयारो हुने अवस्थाको सिर्जना हुन नदिन, नेपाली बजारमा प्रशस्त अक्सिजन र अक्सिजन सिलिण्डरको व्यवस्था गरिदिनुहुन तथा अस्पतालमा उपचारका लागि प्रयोग हुने अक्सिजन उद्योगधन्दामा केहि समयका लागि प्रयोग बन्द गर्न वा बन्द गर्न नसकिने अवस्थामा निकै कम खपत गर्न’, उद्योगलाई लेखिएको पत्रमा भनिएको छ । आइतबार २८ जना कोरोना संक्रमितको निधन भएको छ । यस्तै मुलुकभर हालसम्म तीन लाख एक सय १९ जना संक्रमित, दुई लाख पाँच सय ७३ जना निको भएका छन् । यस्तै तीन हजार एक सय ६४ जना निधन तथा आइतबार मात्रै तीन हजार एक सय २२ जना संक्रमित भेटिएका छन् । 


 

प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update