Kath khabar
आज विनियोजन विधेयक पास गर्ने तयारी,  बजेट ‘होलिडे’बाट मुक्त गर्ने सरकारको प्रयास

काठमाडौं, असोज ४ । सरकारले प्रतिनिधिसभाबाट आज सोमबार विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ । सोही अनुसार संसद सचिवालयले तयारी गरेको छ ।

विनियोजन विधेयकको मन्त्रालयगत एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकमा छलफल गर्ने तयारी गरिएका संसद सचिवालयले जनाएको छ। छलफलको क्रममा प्रश्न उठेमा जवाफका लागि सभामुखले समय तोक्ने तयारी समेत भएको छ।

सचिवालयका अनुसार प्रतिनिधिसभामा शुरुमा विनियोजन विधेयकको मन्त्रालयत शीर्षकमाथि छलफल हुन्छ र सांसदहरुले उठाएको प्रश्नको जवाफ अर्थमन्त्रीले दिनुहुने छ । त्यसपछि सांसदहरुले हालेका संशोधनमाथि छलफल हुन्छ र उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्रीले दिनु हुन्छ ।

त्यसपछि संशोधन प्रस्ताव स्वीकृत र अस्वीकृतको चरणमा जान्छ । बहुमत प्राप्त सरकार भएको हुदाँ संशोधन प्रस्ताव अस्वीकृत हुने देखिन्छ । त्यसपछि अर्थमन्त्रीले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नु हुनेछ । अर्थमन्त्रीको प्रस्तावउपर दफा दफा पास गरेर विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी छ ।

विनियोजन विधेयक पारित भएपछि आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल गर्ने तयारी रहेको छ।  आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि सांसदहरुलाई संशोधनका लागि समय दिइने बताइएको छ।

विनियोजन विधेयक पास भए सँगै मुलुक बजेट ‘होलिडे’ विहिन अवस्थाबाट मुक्त हुने छ। यसका लागि केहि दिन लाग्ने छ।प्रतिनिधिसभाले विनियोजन विधेयक पास गरे सँगै राष्ट्रिय सभामा प्रस्ताव पेश गरिन्छ। संसदको कार्यसूची अनुरुप विनियोजन विधेयक मंगलबार बोलाइएको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक विचार गरियोस् भनि प्रस्ताव पेश गरिन्छ। त्यसपछि सांसदहरुलाई संशोधनको लागि ७२ घण्टाको समय दिइनेछ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले भने संसद अवरोध गर्न सक्न्ने छन्। बैठकको सुरुवात देखि नै एमालेले संसदमा अवरोध गर्दै आएको छ। २३ भदौमा प्रतिनिधि सभा बैठक सुरु भएको हो।

 

 

 

प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update