Kath khabar
महामारीका बिचमा पनि बिदेश पढ्न जानेहरुबाट बाहिरियो १८ अर्ब ३१ करोड

काठमाडौं वैशाख १३ । बिदेशमा पढ्न  जानेहरुका कारण महामारीका बिचमा पनि मुलुकबाट झन्डै १८ अर्ब ३१ करोड रकम बाहिरिएको छ । महामारीका बिचमा खासै नयाँ विद्यार्थी नगएपनि त्यहाँ नै रहिरहेकाहरुले जागीर गुमाएपछि नेपालबाट पैसा पठाउनु परेको छ ।बिश्वभर फैलिरहेको कोरोना भाइरसका कारण देश तथा बिदेशम रहेका नेपालीहरुले रोजगारी गुमाएका छन् । काम गर्दै पढ्ने भनेर बिदेशमा पुगेकाहरुले रोजगारी गुमाएपछि नेपालबाटै बिदेशको कलेजको फि मात्रै हैन खान बस्न समेत नेपालबाटै पैसा पठाउनु परेको छ । नेपालमा गुणस्तरीय उच्च शिक्षा पाइएन भनेर वर्षेनी युवाहरु बिदेशीने गरेका छन् । यस्ता पढ्न भनेर गएकाहरु कमै मात्रै नेपाल फर्कने गर्छन् ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ भन्छन् ‘ माहामारीमा बिदेशमा रहेका नेपालीहरुलाई कलेज फि तिर्नको लागि नेपाल पठाइयो जसका कारण ठूलो रकम बाहिरिएको देखिएको हो, यद्यपि यो गत वर्षको तुलनामा भने कम हो । ’
अघिल्लो वर्ष शिक्षातर्फको व्यय २३ अर्ब ९२ करोड रहेको थियो । तर यो वर्ष भने यस्तो खर्च १८ अर्ब ३१ करोड कायम भएको छ । यसरी नेपालबाट बाहिरिने रकम बढेपछि सेवा खाता पनि घाटामा देखिएको छ ।

विदेशबाट नेपाल पढ्न आउनेहरु छैनन् । घुम्न आउनेहरु मात्रै  सेवा खातामा रकम योगदान गर्नेहरु हुन् । नेपालमा पढ्न आउने त यसअघि पनि थिएनन् । यसपालि घुम्न आउनेहरु पनि नआएपछि खुद सेवा आय ३९ अर्ब ६९ करोडले घाटामा रहेको  देखिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय जम्मा ४ अर्ब २२ करोडले घाटामा रहेको थियो ।
सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९१.७ प्रतिशतले कमी आई रु ४ अर्ब ४५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.५३ अर्ब ३६ करोड रहेको थियो । सेवा खाता अन्तर्गत फागुन मसान्तसम्म भ्रमण व्यय ५४.० प्रतिशतले कमी आई २२ अर्ब ६२ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय १८ अर्ब ३१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ४९ अर्ब १३ करोड रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update