Kath Khabar
११ दिनसम्म देशव्यापी रूपमा भेरोसेल खोप लगाइदै

काठमाडौं, असोज ४ । सरकारले आज सोमबार देखि देशव्यापी रूपमा ११ दिनसम्म कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाउँदै छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लामा कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने अभियान सञ्चालन गरिने भएको हो।


अहिले पहिलो मात्रा लगाएका व्यक्तिलाई कात्तिक ४ देखि १४ गतेसम्म दोस्रो मात्रा दिइने मन्त्रालयले जानकारी दिएको छ। जस अनुसार सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, दार्चुला, बाजुरा र रसुवामा १८ वर्षदेखि माथिका नागरिकलाई भेरोसेल खोप लगाउन पाउनु हुने छ।
यस्तै चितवन र काभ्रेमा ३५ वर्षमाथि उमेरकालाई खोप दिइने भएको छ। साथै १८ वर्षमाथिका विद्यार्थीलाई पनि खोप दिइनेछ।


मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइनेछ।

मनाङ, मुस्ताङ र रुकुमपूर्वबाहेकका बाँकी जिल्लामा भने ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने मन्त्रालयले जनाएको छ।

साथै यसअघि छुटेका अग्रपंक्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। काठमाडौंमा भने सामेबारदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइँदै छ।

प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update