कोलकत्ता, वैशाख १४। इन्डियन प्रिमियर लिग आइपिएलमा कोलकत्ता नाइट राइर्सले दोस्रो जित हात पारेको छ । गएराती एम्दाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको खेलमा कोलकत्ताले पञ्जाब माथि पाँच विकेटको सहज जित हात पार्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाव निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र एक सय २३ रनमा समेटियो । कोलकत्ताका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि पञ्जाव सस्तैमा समेटिएको हो । मयांक अग्रवालले ३१ तथा क्रिस मोरिसले ३० रन बनाए । सात ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् । प्रसिद्ध क्रिष्णाले ३० रन खर्चिएर सर्वाधिक तीन विकेट लिए। प्याट कमिन्स र सुनिल नारिनले पनि समान दुइ दुइ विकेट लिए । जवाफमा एक सय २४ रनको लक्ष्य कोलकत्ताले १६ दशमलब चार ओभरमा पाँच विकेटको क्षतिमा पुरा गर्यो । खराब सुरुवात गरेको कोलकत्ताकाले १७ रन बनाउँदा तीन विकेट गुमाएको थियो । मध्यक्रममा आएका कप्तान इयोन मोर्गनले ४७ रनको अविजित पारी खेल्दा राहुल त्रिपाथीले ४१ रन जोड्दै कोलकत्तालाई जिताएका हुन् । ६ खेलमा दोस्रो जित हात पार्दै कोलकत्ता अन्तिम स्थानबाट पाँचौँमा उक्लेको छ ।