काठमाडौं, असोज ५ । रूसमा भएको आमनिर्वाचनमा राष्ट्रपति भ्लादमिर पुटिन समर्थित दल अगाडि देखिएको छ। सो सँगै पुटिन समर्थित युनाइटेड रसिया पार्टीले रुसको तल्लो सदन स्टेट डुमामा पुनः बहुमत ल्याउने निश्चित भएको रुसी मिडियाहरुले बताएका छन् ।
तीन दिनसम्म भएको मतदानको ३३ प्रतिशत मतगणना सकिँदा राष्ट्रपति भ्लादमिर पुटिनको समर्थित युनाइटेड रसिया पार्टीले ४५ प्रतिशत मत प्राप्त गरेको छ। प्रतिष्पर्धी अर्को दल रुसी कम्युनिष्ट पार्टीले २२ प्रतिशत मात्रै मत पाएको रुसी मिडियाहरुले उल्लेख गरेका छन् । युनाइटेड रसिया पार्टीले पाँच वर्षअघि भएको चुनावमा ५४ प्रतिशत मत पाएको थियो।
यता यसपटकको निर्वाचनमा अधिकांश विपक्षी नेतालाई भाग लिन रोक लगाइएको थियो । रुसले विपक्षी नेता एलेक्सी नाभाल्नीको संगठनलाई ‘चरमपन्थी’ भएको बताउँदै निर्वाचनमा भाग लिन रोक लगाएको थियो । यससँगै धेरै मानिसहरु रुसको सरकारविरुद्ध देखिएका थिए । निर्वाचनमा ठूलो मात्रामा धाँधली भएको आरोप समते लागेको छ ।
पुटिन कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपति बनेर सन् १९९९ देखि निरन्तर रूसी सत्ता सम्हाल्दै आउनु भएको छ । गत वर्ष संविधान संशोधन गरेर पुटिनलाई सन् २०३६ सम्म रूसी राष्ट्रपति बन्न बाटो खुला गरिएको थियो । सन् २०२४ मा रूसमा राष्ट्रपतिको चुनाव हुँदै छ। उक्त चुनावमासमेत पुटिन उम्मेदवार बन्ने अनुमान गरिएको छ। तर, यसबारे ६८ वर्षीय पुटिनले अहिलेसम्म औपचारिक रूपमा केही बताउनु भएको छैन। एजेन्सी