काठमाडौं, असोज ५ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ नेतृत्व पाउने भएको छ। यो सँगै नयाँ महानिर्देशकको लागि दौडधूप सुरु भएको छ। हालका महानिर्देशक राजन पोखरेलले अनिवार्य अवकाश पाउने भएपछि ४ जना सदस्य महानिर्देशकको दौडमा हुनुहुन्छ । पोखरेले हप्ता दिन भित्र अवकाश पाँउदै हुनुहुन्छ ।
नयाँ नेतृत्वको लागि राजकुमार क्षेत्री, भोला गुरागाईं , प्रतापबाबु तिवारी र इजिनियर प्रदिप अधिकारी समेत दाबेदारीको रुपमा देखिनु भएको छ। निर्देशक राजकुमार क्षेत्री कर्पोरेट निर्देशनालयको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ भने भोला गुरागाईं हवाइ सुरक्षा निर्देशनालयमा हुनुहुन्छ । यस्तै, प्रतापबाबु तिवारी त्रिभुवन विमानस्थलका महाप्रबन्धक हुनुहुन्छ । प्राधिकरणको आठौँ तहबाट सिधै ११औँ तहमा प्रतिस्पर्धाबाट पुग्नु भएको इन्जिनियर अधिकारीले समेत महानिर्देशकको दाबी गर्नु हुदाँ प्रतिस्पर्धीको संख्या बढ्न पुगेको हो ।
यसैबीच महानिर्देशकको आकांक्षीहरुले प्रधानमन्त्री निकट व्यक्तिहरुसँग पहल गरिरहेको बताइएको छ। सरकार विस्तार हुन नसक्दा उड्डयन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले लिदै आउनु भएको छ। प्रतिस्पर्धीहरुले भने आफू महानिर्देशकको लागि जिम्मेवारी लिन सक्षम रहेको बताउनु भएको छ। प्राधिकरण स्रोतका अनुसार महानिर्देशकको जिम्मेवारी लिन सक्ने बताँउदै उहाँहरुले उम्मेद्धारी दिनु भएको हो। को नेतृत्वामा पुग्नु हुन्छ हेर्न बाँकी छ।
महानिर्देशकको नियुक्ति भने मन्त्रिपरिषदले गर्छ। नयाँ नेतृत्वलाई यसअघि कै समस्या युरोपियन युनियनको कालोसूचीबाट नेपाललाई हटाउने पर्ने रहेको छ।
त्यसका लागि प्राधिकरणलाई व्यवस्थापकीय र नियमनकारी निकाय अलग हुने गरी टुक्राउनु पर्नेछ ।