Kath khabar
१२ अर्ब लगानी आँउदा सबैभन्दा धेरै लगानी चिनियाँलगानीकर्ताको

काठमाडौं, असोज ६ । मुलुकको उद्योग क्षेत्रमा गरिने विदेशी लगानी रकममा चार अर्बले बढेको छ। चालु आर्थिक वर्ष २०७८÷०७९ को दुई महिना (साउन÷भदौ) को अवधिमा विदेशी लगानीमार्फत् उद्योग क्षेत्रमा १२ अर्ब छ करोड २७ लाख लगानी प्रस्ताव आएको छ। विदेशी लगानीकर्ताहरुले उक्त लगानी ७२ वटा उद्योग स्थापना गर्न लागि प्रस्ताव गर्नु भएको उद्योग विभागले जानकारी दिएको छ।
जुन गत आर्थिक वर्ष २०७७÷०७८ को दुई महिनाको अवधिमा उद्योग क्षेत्रमा आएको विदेशी लगानी भन्दा चार अर्ब ४० करोड ७२ लाखले बढी हो । गत आर्थिक वर्ष २०७७÷०७८ को उक्त अवधिमा विदेशी लगानीमार्फत् उद्योग क्षेत्रमा सात अर्ब ६५ करोड ५५ लाख आएको थियो। विभागले कृषि तथा वनजन्य, उर्जा, सूचना तथा प्रविधि, उत्पादन, सेवा र पर्यटन गरी छ प्रकारको उद्योग दर्ता गर्ने गर्छ।
चालु आर्थिक वर्ष २०७८÷०७९ को उक्त अवधिमा विदेशी लगानी सबैभन्दा धेरै पर्यटन उद्योगमा पाँच अर्ब ८५ करोड १५ लाख र त्यसपछि क्रमशः सेवा उद्योगमा तीन अर्ब ४० करोड ५० लाख, उत्पादनजन्य उद्योगमा एक अर्ब ९५ करोड, कृषि तथा वनजन्य उद्योगमा ६० करोड, सूचना तथा प्रविधिजन्य उद्योगमा १५ करोड र सबैभन्दा कम उर्जा उद्योगमा १० करोड ६२ लाख प्रस्ताव गर्नुभएको छ ।  
विदेशी लगानीकर्ताहरुले ३० वटा पर्यटनमूलक, २० वटा सेवामूलक, १५ वटा उत्पादनमूलक, चार वटा कृषि तथा वनजन्य, दुई वटा सूचना तथा प्रविधिजन्य र एउटा उर्जाजन्य उद्योग स्थापनाका लागि सो लगानी प्रस्ताव गर्नुभएको हो । उहाँहरुले ती उद्योगस्थपनासँगै चार हजार नौ सय ८३  जनालाई रोजगारी दिने प्रस्ताव समेत गर्नु भएको विभागले जनाएको छ।
गत आर्थिक वर्ष २०७७÷०७८ को दुई महिनाको अवधिमा पर्यटन उद्योगमा पाँच अर्ब ५५ करोड ५५  लाख र सेवा उद्योगमा दुई अर्र्ब १० करोड लगानी प्रस्ताव आएको थियो। सो लगानी प्रस्ताव ३४ वटा पर्यटन र १४ वटा सेवा उद्योग स्थापना तथा एक हजार दुई सय ४७ जनालाई रोजगारी दिने उद्देश्यका साथ आएको विभागले जनाएको छ ।

चिनियाँ लगानी सबैभन्दा धेरै
चालु आर्थिक वर्ष २०७८÷०७९ को दुई महिनाको अवधिमा सबैभन्दा बढी चिनियाँ लगानी आएको विभागले जनाएको छ। दुई महिनाको अवधिमा ६२ वटा उद्योगका लागि भन्दै ११ अर्ब १५ करोड ९० लाख त्यसपछि क्रमशः भारतीय लगानीकर्ताले ४९ करोड ७५ लाख, अमेरिकी लगानीकर्ताले १५ करोड लगानी प्रस्ताव गर्नु भएको छ ।
यस्तै, नेदरल्याण्डका लगानीकर्ताले १० करोड ६२ लाख, जपान, बेलायत र भियतनामाका लागानीकर्ताहरुले क्रमशः पाँच÷पाँच करोड लगानी प्रस्ताव गर्नु भएको छ । भारतीयले ४ वटा, अमेरिकाले दुई वटा र बाँकी नेदरल्याण्ड,जापान, भियतनामा लगायतका सम्पूर्ण मूलकले एउटा उद्योग स्थापनका लागि लगानी प्रस्ताव गर्नु भएको हो । नेपालमा प्रत्यक्ष विदेशी लगानीमार्फत् विदेशी लगानी भित्राएको पाईन्छ।
‘औद्योगिक व्यवसाय ऐन–२०७५’ अनुसार १० करोड सम्म स्थिर पुँजी भएको साना, १० देखि २५ करोडसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोडभन्दा बढी स्थिर पुँजी भएको ठूला उद्योग विभागले दर्ता गर्छ । यता विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ कार्यान्वयनमा आए सँगै विभागबाट लगानी स्वीकृति गराएको एक वर्ष भित्र एफडिआई ल्याउने पर्ने व्यवस्थाले रहेको छ।

 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update