Kath khabar
दशैंतिहारमा चिनी अभाव नहुने

काठमाडौं, असोज ७ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व (दैश/तिहार) का लागि आवश्यक चिनी मौैज्दात रहेको जनाएको छ।

पछिल्लो समय बजारमा चिनी नभएको गुनासो आएको भन्दै विभागले तीन महिना पुग्ने चिनी मौज्दात रहेको जनाएको हो।

विभागले बुधबार सूचना जारी गरी बजारमा पर्याप्त मात्रामा चिनीको मौज्दात रहेकाले उपभोक्तालाई हतास नहुन आग्रह गरेको हो।

‘आयात अनुपात र खपत भएको मात्राका आधारमा बजारमा अझै तीन महिनालाई पुग्ने चिनी उपलब्ध छ। चिनी आयात प्रक्रिया नियमित रहेको र खुला बजारमा पनि पर्याप्त मात्रामा चिनी रहेकाले उपभोक्ता हतास हुनुपर्ने कुनै कारण छैन।

तत्काल आवश्यक मात्राभन्दा बढी सञ्चित गरेर राख्नुपर्ने अवस्था नभएको हुनाले नियमित र सामान्य आपूर्ति प्रणालीमा असर पर्ने गरी अधिक मात्रामा खरिद गरी भण्डारण नगर्नु हुन अनुरोध छ’, विभागले जारी गरेको सूचनामा भनिएको छ।

विभागले व्यवसायीलाई समेत गोदाममा वस्तुको मौज्दात हुँदाहुँदै बजारमा नपठाई उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ प्रतिकूल कृत्रिम अभाव सिर्जना नगर्न आग्रह गरेको छ।

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update