Kath khabar
अवरोधका बीच आर्थिक विधेयक पेस गर्ने तयारी

काठमाडौं, असोज ७ । प्रमुख विपक्षी नेकपा (एमाले) को अवरोधका बीच सरकारले आर्थिक विधेयक पास गर्ने तयारी गरेको छ। प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो २ बजे बस्न लागेको हो।

बैठकमा आर्थिक विधेयक, २०७८ पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ। सुरुमाआर्थिक विधेयक, २०७८ माथि छलफल हुनेछ। लगत्तै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, २०७८ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने र त्यसपछि आर्थिक विधेयक, २०७८ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ।

यसैगरी राष्ट्र ऋण उठाउने विधेयक, २०७८ पनि पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ। सुरुमा राष्ट्र ऋण उठाउने विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ।
त्यसपछि अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र ऋण उठाउने विधेयक, २०७८ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्नु हुने र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ लाई पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।

एमाले सांसदहरुले सभामुखले न्याय नगरेसम्म संसद् अवरोध कायमै रहने बताँउदै आउनु भएको छ ।

यस अगाडि पनि प्रमुख विपक्षी एमालेको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभाबाट बजेट (विनियोजन विधेयक) पारित भएको थियो। सभामुख अग्नि सापकोटाले एमाले अवरोधबीच बजेटलाई निर्णयार्थ पेश गरे र बहुमतले पारित भएको घोषणा गर्नु भएको थियो ।

सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले भदौ २३ देखि संसद अवरोध गर्दै आएको छ। एमालेले सभामुखलाई १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस गर्न वा मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। एमालेले घुमाउरो भाषामा १४ सांसदलाई कारबाही नगरे सभामुख सापकोटाले राजीनामा दिनुपर्ने सर्त अगाडि सारेको छ।

 

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update