काठमाडौं, असोज ७ । नेपालको बैदेशिक व्यापार निराशाजन देखिएको छ । नेपाल राष्ट्र बैंकको आज बिहिबार सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा बित्तीय अवस्था सम्वन्धी चालु आर्थिक बर्षको पहिलो महिनाको प्रतिवेदन अनुसार आयात र निर्यातबिचको खाडल उच्च हुंदा बैदेशिक व्यापार निराशाजनक देखिएको छ ।
प्रतिवेदन अनुसार चालु आवको पहिलो महिनामा नै मुलुकको कुल वस्तु व्यापार घाटा ७० दसमलव छ प्रतिशतले बढेर एक खर्ब २९ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २२ दसमलव दुई प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी चालु आवको पहिलो महिनामा कुल वस्तु निर्यात एक सय १५ दसमलव नौ प्रतिशत ले वृद्धि भई २० अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात आठ दसमलव नौ प्रतिशतले वृद्धि भएको थियो । राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ क्रमशः एक सय ६७ प्रतिशत, ४७ दसमलव आठ प्रतिशत र १७ दसमलव पाँच प्रतिशतले निर्यात वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, धागो पोलिष्टर तथा अन्य), जुस, पिना लगायतका वस्तुको निर्यात बढेपनि अलैची, आयुर्वेदिक औषधी, जडिबुटी, तार, तयारी छालाका समान लगायतका वस्तुको निर्यात भने घटेको प्रतिवेदनमा उल्लेख छ ।
चालु आवको पहिलो महिनामा कुल वस्तु आयात ७५ दसमलव सात प्रतिशतले बढेर एक खर्ब ५० अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९ दसमलव छ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५८ दसमलव सात प्रतिशत, ८७ दसमलव छ प्रतिशत र एक सय २० दसमलव आठ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, सुन लगायतका वस्तुको आयात बढेको भएपनि रसायनिक मल, सिमेन्ट, सुर्ती, हवाईजहाजका पार्टपुर्जा, तयारी पोषाक लगायतका वस्तुको आयात घटेको छ । राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो महिनामा कञ्चनपुर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । त्यसैगरी, समीक्षा अवधिमा कैलाली भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयात वृद्धि भएको छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३ दसमलव आठ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दसमलव दुई प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी १८ अर्ब ८६ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नौ अर्ब २६ करोड बराबरको यस्तो आयात भएको राष्ट्र बैंकले जनाएँको छ ।