Kath khabar
कोरोनापछि खुलेका होटलका चाडपर्व लक्षित योजना

काठमाडौँ, असोज ८।  शरद ऋतुको मनोरम मौसम तथा चाडपर्वमा पारिवारिक जमघटका साथ मनोरञ्जन लिने चाहना कसलाई पो नहोला र ? यदि तपाईं पनि यस्तो योजनामा हुनुहुन्छ भने त्यसका लागि तयारी गर्दा हुन्छ ।

नेपालमा दसैँ तिहार लगायतका चाडपर्व नजिकिँदै गरेकाले राजधानीका होटलले पनि यस्ता प्याकेज ल्याएका छन् । कोरोना महामारीका कारण बन्द भएका होटल भर्खरै जस्तो खुल्न लागेकाले पारिवारिक जमघटका साथै अन्य विभिन्न प्याकेज ती होटलले घोषणा गरिरहेका छन् । साथै नेपालका ठूला चाडपर्व नजिकएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई उनीहरु विभिन्न आकर्षक कार्यक्रम दिएका छन् । यसबाट नेपालमा कोरोना महामारीबाट थला परेको पर्यटनलाई थोरै मात्र भए पनि उकास्न सहयोग पुग्ने यस क्षेत्रको तर्क छ ।
        
यस्तै एउटा होटल हो रमादा इनकोर । यस होटलले नजिकिएको दसैँ तिहारलगायत चाडपर्वलाई मध्यनजर गर्दै विशेष पारिवारिक योजना ल्याएको छ । अमेरिकी ब्राण्डको ठमेलस्थित चेन होटल रमादा इन्कोर बाइ विन्धम काठमाडौँले दसैँ तिहारको छुट्टीको अवसर सदुपयोग गर्ने पारिवारिक वातावरण बनाइएको र त्यस्तै कार्यक्रमहरु ल्याइएको बताएको छ । होटलको योजनाअनुसार व्यक्तिगत तथा दम्पतीहरुका लागि विशेष सुविधासहितका प्योकजहरु ल्याएको जनाएको छ । होटलका आगन्तुकले रुफ–टप इन्फिनिटी स्विमिङ पुलको मज्जा लिनसक्ने र फिटनेस सेन्टरको मज्जा लिन पनि सक्नेछन् ।

विदेशी तथा आन्तरिक पर्यटकका लागि सो होटलले छुट्टाछट्टै कार्यक्रम ल्याएको जनाएको छ । कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सुलभ सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालन गरिएको होटलका महाप्रबन्धक महेश फुयाँलले बताउनुभयो । आजदेखि सुरु भएको यो प्याकेज मङ्सिर १४ गतेसम्म उपलब्ध हुने उहाँले बताउनुभयो ।

कोभिड–१९ महामारीको जोखिम कम भएसँगै नेपालमा विस्तारै पर्यटकीय गतिविधि पनि चलायमान हुने वातावरण बनेको । सरकारले नेपाल आउने विदेशी पर्यटकलाई सर्तसहित ‘अनअराइभल भिसा’ खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशी नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ सार्वजनिक गर्दै पर्यटक आगमनलाई सहज बनाएको हो । यो व्यवस्थाले पर्यटक आगमन सहज हुनेछ ।
 
शरद ऋतुमा पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य मात्रामा विदेशी पर्यटक नेपाल आउछन् । यो वर्ष आगामी नोभेम्बर महिनमा गैर आवासीय नेपाली सङ्घ (एनआरएन) को विश्वसम्मेलन तथा अधिवेशन हुँदैछ । विदेशी पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सुविधा दिनेगरी नेपालमा चेन होटल धमाधम खुलिरहेका छन् । निर्माणाधीन चेन होटल शेराटन, हिल्टनलगायतले पनि छिट्टै सेवा सुरु गर्नेगरी काम अघि बढाएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२१ को आठ महिनामा ६६ हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२० को पर्यटक आगमन सङ्ख्या दुई लाख ३० हजार ८५ सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए । रमादा होटलले रु छ हजारमा यस्तो प्याकेज दिइएको जनाएको छ । यसअन्तर्गत विविध सुविधा उपलब्ध गराइएको छ । करिब रु साढे दुई अर्ब लगानी रहेको उक्त होटल चार रोपनी  क्षेत्रफलमा छ । नेपालमा डालिया इन्भेस्टमेन्ट ग्रुपले सो होटल हालै सञ्चालनमा ल्याएको हो ।

यसअघि माल्दिभ्स, मोरक्को, दुबई, दक्षिण अफ्रिकासम्मको १८ वर्ष अन्तर्राष्ट्रिय अनुभव बोकेका एक्जुकेटिभ सेफ नारायण रानाले आफ्नो स्थानीय र अन्तर्राष्ट्रिय अनुभव संगालेर यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नयाँ खानाको स्वाद पस्किने गर्नुभएको छ । यस डालिया इन्भेस्टमेन्ट ग्रुपले पोखरामामा डालिया बुटिक होटल पनि सञ्चालन गरिरहेको छ ।
 

 

प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update