काठमाडौं, असोज ९ । नेपालको व्यापार घाटा ७१ प्रतिशतले बढेको छ। निर्यात न्यनू र आयात उच्च हुदाँ मुलुकको व्यपार सदवै घाटामा रहेको छ । यसले गर्दा मुलुकमा अधिकांश वस्तु उत्पादन नहुने भान हुन्छ ।
चालु आर्थिक वर्ष २०७८÷०७९ को दुई महिना (साउन÷ भदौं) मा मुलुकको व्यापार घाटा ७१ प्रतिशतले बढ्दा दुई खर्ब ७० अर्ब ४७ करोड रुपैयाँ बराबरको हुनु पुगेको भन्सार विभागले जानकारी दिएको छ। गत आर्थिक वर्ष २०७७÷०७८ को सोहि अवधिमा मुलुकले एक खर्ब ५८ अर्ब ४० करोड ३२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।
भान्सामा प्रयोग हुने न्यून सामग्री देखि पेट्रोलियम पदार्थ, हवाईजहाज, सवारी साधन, विद्युतिय उपकर÷सामग्री जस्ता महँगा सामग्री तथा यसका पाटपूर्जा लगायतका सम्पूर्ण कुरा आयात गर्नुपर्ने अवस्था रहेको हुदाँ मुलुकले उच्च व्यापार घाटा व्यहोर्नु परेको देखिन्छ।
नेपालीको भान्छामा प्रयोग हुने धनियाँ, लसुन, प्याज लगायतका सामग्रीहरु अर्जेन्टिना, चीन, भारत लगायतका मुलुकबाट आयात हुने गरेको पाईन्छ। जसले गर्दा नेपालमा दैनिक उपभोग्य सामग्री समेत उत्पादन हुदैन की भन्ने भान समाजमा परेको देखिने जानकारहरु बताउनु हुन्छ ।
आयातसँगै निर्यातमा उच्च वृद्धि भएको छ । भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार आयातमा ७६ र निर्यातमा १ सय १५ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा ४४ अर्ब तीन करोड ९५ लाख ९१ हजार रपैयाँ बढीको स्वदेशी वस्तुको निर्यात भएको छ भने तीन खर्ब १४ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ ।
सबैभन्दा धेरै आयात भारतबाट भएको छ । भारतबाट एक खर्ब ८७ अर्ब ७१ करोड ८० लाख ४५ हजार रुपैयाँ बराबरको आयात भएको छ । भारतपछि ठूलो मात्रामा चीनबाट ४२ अर्ब ८४ करोड ७५ लाख रुपैयाँ बराबरको आयात भएको छ ।
२ महिनामा भारतमा ३६ अर्ब १७ करोड ४३ लाख र चीनमा १५ करोड ८० लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।
निर्यातमा थप वृद्धि ल्याउनेको लागि सरकारले उचित नीति लिएर उत्पादनमा जोड दिनु पर्ने उहाँहरुको भनाई छ। सो अनुरुप मात्र मुलुकको निर्यातदर बढ्ने र व्यापार घाटामा कमी आउने जानकारहरुको भनाई रहेको छ।