काठमाडौं, असोज ९ । चिनियाँ प्रविधि कम्पनी हुवावेकी कार्यकारी प्रमुख मेङ वानजाउलाई क्यानडाले रिहा गरेको छ ।
अमेरिकी अधिकारीको आग्रहमा वानजाउनलाई क्यानडामा पक्राउ गरिएको थियो । अमेरिकाले ठगीको आरोप लगाउँदै पक्राउ गर्न अनुरोध गरेपछि क्यानडाले सन् २०१८ को डिसेम्बरमा वानजाउलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । तर पुनरावलोकनको निवेदनमा सुनुवाइ गर्दै अमेरिकी अदालतले वानजाउलाई रिहा गरेपछि उहाँ क्यानडाबाट विशेष विमानमार्फत चीन प्रस्थान गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
अमेरिकाको आग्रहमा हुवावेकी कार्यकारीलाई पक्राउ गरेर जेल चलान गरेपछि चीन रुष्ट बनेको थियो । रुष्ट बनेको चीनले दुई जना क्यानडेली नागरिकलाई पक्राउ गरेर हिरासतमा राखेको थियो । तर पछिल्लो समय चीन र क्यानडाका अधिकारीबीच भएको बैठकले विवाद कम गर्दै लैजाने सहमति गरेपछि चीनले पनि क्यानडाका दुई जना नागरिकलाई रिहा गरको छ । उहाँहरु आजै स्वदेश फकिर्दै हुनुुहुन्छ ।
हुवावेकी कार्यकारीलाई क्यानडाले पक्राउ गरेको र दुई जना क्यानेडेली नागरिकलाई चीनले पक्राउ परेको विषयले उत्कर्षमा पुगेको अमेरिका, क्यानडा र चीनको सम्बन्धमा अब सुधार आउने अपेक्षा गरिएको समाचार संस्था एएफपीले जनाएको छ । एजेन्सी