काठमाडौं, असोज १० । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा काठमाडौं किङ्स इलाभेनले विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई ७ विकेटले हराएको हो ।
साविक विजेता ललितपुर प्याट्रीयट्सले दिएको १ सय ५८ रनको लक्ष्य काठमाडौं १४ ओभर २ बलमा ३ विकेट गुमाएर भेट्टायो । काठमाडौंका लागि रायन बर्ल र रहमान उल्लाह गुर्बाजले अर्धशतकीय पारी खेल्नु भयो। बर्लले अविजित ७३ रन र गुर्बाजले ५९ रन जोड्नु भयो।
काठमाडौंका सुवास खकुरेल शून्य र अमित श्रेष्ठ ४ रनमा आउट हुनुभयो । ललितपुरका पवन सर्राफले एक विकेट लिनु भयो। कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । ललितपुरका सर्राफले ६१ रनको अर्धशतकीय पारी खेल्नु भए पनि टोलीलाई जिताउन सक्नुभएन ।
यस्तै योगेन्द्र सिंह कार्कीले ३३ रन जोड्नु भयो । काठमाडौंका जितेन्द्र मुखियाले ४ विकेट लिनुभयो । रायन बर्ल र गुलशन झाले २÷२ विकेट लिनु भयो ।
कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ४४ रन दिए भने शाहिद अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चिनु भयो । शनिबार देखि सुरु भएको इपीएलमा ६ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ र उपविजेताले १५ लाख पाउनेछन् ।