लन्डन, असोज १० । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र ब्रेन्टफोर्डले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा लिभरपुल र ब्रेन्टफोर्डले ३–३ गोलको बराबरी खेलेका हुन् ।
ब्रेन्टफोर्डको मैदानमा घरेलु टोलीले सुरुवाती अग्रता बनाएको थियो । खेलको २७ औं मिनेटमा इथान पिन्नोकले गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाउनु भएको थियो । तर खेलको ३१ औं मिनेटमा डिएगो जोटाले गोल गर्नु हुदै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याउनु भयो ।
खेलको ५४ औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि लिभरपुलले २–१ को अग्रता बनायो । खेलको ६३ औं मिनेटमा भिटाली जनेल्टले गोल गरी ब्रेन्टफोर्डलाई २–२ को बराबरीमा पुराउनु भयो । त्यस्तै खेलको ६७ औं मिनेटमा कुर्टिस जोन्सले गोल गरेपछि लिभरपुलले ३–२ को अग्रता बनायो ।
खेलको ८२ औं मिनेटमा ब्रेन्टफोर्डका योएनी विसाले गोल गरेपछि खेल ३–३ को बराबरीमा पुग्यो । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् । बराबरीसँगै ६ खेलमा १४ अङ्क जोडेको लिभरपुल शीर्ष स्थानमा छ । ब्रेन्टफोर्ड ९ अङ्कसहित नवौं स्थानमा छ ।