Kath khabar
हत्यापछि तालिबानले शव हेरात सहरमा  झुण्ड्याए

काठमाडौं, असोज १० । अफगानिस्तानमा तालिबानले अपहरणको आरोपमा चार व्यक्तिको हत्या गरेर उनीहरुको शव सार्वजनिक स्थानमा झुण्ड्याएको छ। हेरात सहरमा चारजनाको हत्या गरी उनीहरुको शव स्थानीय चौरहरुमा झुण्ड्याइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

हत्या गरिएका व्यक्ति अपहरणकारी रहेको र चेतावनीस्वरुप शव सार्वजनिक स्थानमा झुण्ड्याइएको तालिबानले बताएको छ। उनीहरुलाई गोली हानेर शनिबार हेरातका विभिन्न चौरमा झुण्ड्याइएको हो।
हेरातका एक व्यापारी वजिर अहमद सिद्धिकीले समाचार संस्था एसोसिएट प्रेसलाई  बताएअनुसार शनिबार तालिबानहरूले चार वटा शव सहरमा ल्याएर आएका थिए। एउटा मुख्य चोकमा झुन्ड्याए र तीन वटा बाँकी चोकमा झुन्ड्याउन लगेर गए।

तालिबानका नेता मुल्ला नूरुद्दिन तुराबीले यही हप्ता आफ्नो शासन व्यवस्थामा सार्वजनिक स्थानमा नभए पनि मृत्युदण्ड र शरीरका अंग काट्नेसहितका गम्भीर सजाय हुने बताउनु भएको थियो । त्यसको केही दिनपछि नै चारजनाको हत्या गरेर सार्वजनिक स्थानमा झुण्ड्याइएको हो।

अफगानिस्तानको कानुनमा मृत्युदण्डको सजायको व्यवस्था रहे पनि पछिल्लो दुई दशक सार्वजनिक रुपमा यसलाई प्रयोग गरिएको थिएन। मृत्युदण्ड दिइए पनि सार्वजनिक स्थानमा हुने गरेको थिएन।

तालिबानले हत्या गरिएका चारजनाको शव सहरका खुला चौरमा क्रेनमार्फत झुण्ड्याइएको थियो ।

गएको अगस्ट १५ मा तालिबानले काबुल नियन्त्रणमा लिएको थियो। अहिले तालिबानको अन्तरिम सरकारले अफगानिस्तान शासन चलाइरहेको छ।तालिबानले यस पटक नरम तरिकारले शासन चलाउने बताएका थिए। सन् १९९६ देखि २००१ सम्म शासन गर्दा उनीहरूले अपराध गर्ने मानिसलाई सार्वजनिक रूपमा ढुंगाले हानेर मार्ने र हात–खुट्टा काटिदिने जस्ता दण्ड दिने गर्थे। एजेन्सी

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update