Kath khabar
महामारीको समयमा राज्यको ढुकुटीमा १४ खर्ब ३६ अर्ब बिदेशी मुद्रा, कति समय धान्छ आयात ?

काठमाडौं, वैशाख १५ 
बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को महामारी पछिल्लो समय झन फैलिदै गएको छ  । यस्तो समयमा आर्थिक क्रियाकलापमा संकुचन आउँछ । बिदेशी मुद्रा आउने संभावना पनि अत्यन्त न्युन हुन्छ, जुन हामीलाई बस्तु आयातका लागि नभई नहुने कुरा हो ।
नेपाल राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तसम्मा राज्यसँग १४ खर्ब एक अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो । जुन अहिले  दुुई दसमलव पाँच प्रतिशतले वृद्धि भई २०७७ फागुन मसान्तमा १४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ फागुन मसान्तमा छ दसमलव दुुई प्रतिशतले वृद्धि भई १२ अर्ब ३७ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ फागुन मसान्तमा तीन दसमलव तीन प्रतिशतले वृद्धि भई १२ खर्ब ६६ अर्ब १० करोड पुगेको छ  ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा एक खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७७ फागुन मसान्तमा तीन प्रतिशतले कमी आई एक खर्ब ७० अर्ब ४४ करोड कायम भएको छ । २०७७ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २७ दसमलव छ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७७÷७८ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२ महिना पाँच दिनको वस्तु आयात र ११ महिना तीन दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

फागुन मसान्तसम्म विप्रेषण आप्रवाह आठ दसमलव छ प्रतिशतले वृद्धि भई छ खर्ब ४२ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह एक दसमलव पाँच प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह पाँच प्रतिशतले वृद्धि भई पाँच अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह एक दसमलव पाँच प्रतिशतले बढेको थियो ।
तर वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७४ दसमलव आठ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४ दसमलव दुई प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६५ दसमलव दुई प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या दुई दसमलव सात प्रतिशतले घटेको थियो । 
 

 

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update