काठमाडौं, असोज १२ । चाडवाड नजिकिए सँगै व्यापारीहरुले आफूखुशी मूल्य वृद्धि गर्दा उपभोक्ता मारमा पर्नु भएको छ। चाडवाड नजिकिएसँगै व्यापारीहरुले दैनिक उपभोग्य सामग्री दाल, चामल, तेल, गेडागुडी, सागसब्जी तथा लत्ताकपडा लगायतका सामग्रीको आफूखुशी मूल्यवृद्धि गरेका छन्। दशैं, तिहार र छठको अवसर पारेर मूल्यवृद्धि गरिएको छ। पछिल्लो समय दैनिक उपभोग्य सामग्री मध्ये तेलको मूल्य सदैव बढेको भान हुन्छ।
खाने तेलको मूल्य एक वर्षमै प्रतिलिटर एक सय रुपैयाँसम्म तथा भटमास र सनफ्लावर तेलको समेत मूल्य अस्वभाविक बढेको खुद्रा व्यापार संघले बताएको छ । हाल बजारमा भुटेको तोरीको तेल प्रतिलिटर ३५० देखि ३६० रुपैयाँ, काँचो तोरीको तेल प्रतिलिटर ३६० रुपैयाँ, भटमास तेल प्रतिलिटर २४० रुपैयाँ, सनफ्लावर तेल प्रतिलिटर २५० रुपैयाँ, डाल्डा घिउ प्रतिकेजी २३० रुपैयाँ रहेको संघले जनाएको छ। संघले गत वर्षको तुलनामा यस वर्ष तेलको मूल्यमा करिब ६०/७० प्रतिशत मूल्य बढेको बताएको छ।
चिनी प्रतिकेजी ९५ रुपैयाँ, मुसुरो प्रतिकेजी १६० रुपैयाँ, रहर प्रतिकेजी १७० रुपैयाँ ,हरियो केराउ प्रतिकेजी १४० रुपैयाँ, सानो केराउ प्रतिकेजी १६० रुपैयाँ, राजमा प्रतिकेजी २०० रुपैयाँ मूल्य रहेको छ । चिनी, दाल, केराउ, राजमा पनि अघिल्लो वर्षको तुलनामा करिब १० देखि २० प्रतिशत मूल्य बढेको संघले जनाएको छ।
चाडवाडको समयमा कृत्रिम अभाव सिर्जना गर्ने, नापतौलमा गडबढी गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने र घुसखोरी/नाफाखोरी गर्ने उद्योगी तथा व्यापारीको प्रवृत्तिको कारण भान्सा महँगो हुन पुगेको उपभोक्ताहरु बताउनु हुन्छ ।
अन्य समयभन्दा दसैंतिहारका समयमा दैनिक उपभोग्य , लत्ताकपडा लगायतका सामग्री बढी उपभोग गर्ने हुदाँ अस्वभाविक मृल्य वृछि हुने गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ । दसैंतिहारमा बदमासी धेरै हुने भएकाले सरकारले एकीकृत अनुगमनमा जोड दिएको मन्त्रालयका सचिव दिनेश भट्टराईले बताउनु भयो।
सचिव भट्टराईले दसैंतिहारमा बढी उपभोग हुने भएकाले विशेष अनुगमन गर्ने गरिएको बताउनु भयो । ‘अनुगमनले बजार नियन्त्रण गर्न सघाउँछ’, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल आयल निगमको संयुक्त आयोजनामा सोमबार भएको बजार अनुगमन र सरोकारवालाको भूमिका–अन्तर्क्रिया कार्यक्रममा भट्टराईले भन्नुभयो, ‘गलत क्रियाकलाप पनि यसै समयमा हुने भएकाले नियमनको दायरा फराकिलो गरेका छौं।’
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले ५/६ तहको बिचौलिया हुने भएकाले मूल्य अनियन्त्रित भएको बताउनु भयो । विभागले लत्ताकपडा, खाद्यान्न तथा मासु केन्द्रित अनुगमन गरिरहेको छ। मूल्य, गुणस्तर र सरसफाइमा लक्ष्य गरी बजार अनुगमन गर्ने गरिएको महानिर्देशक पौडेलले बताउनु भयो ।
चाडवाडमा विभागले सघन, विशेष र नियमित अनुगमन गर्ने जनाएको छ।
तस्बिर :काठखबर डटकम
विभागले साउनमा १ सय ८४ र भदौमा २ सय ४० वटा अनुगमन गरेको थियो। अनुगमन गरिएकामा कुनै न कुनै कैफियत भेटाएको थियो । गत वर्ष २ हजार ५ सय अनुगमन भएकोमा ६८ मा मात्रै केही नभेटिएको विभागले जनायो।
विभागले पछिल्लो समय गरेको अनुगमनका क्रममा अस्वाभाविक मूल्य राख्नुका साथै कालोबजारीसम्म गर्ने गरेको पाइएको छ। विभागले ५ हजारदेखि ३ लाखसम्म जरिवाना असुल्ने गरेको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य तथा गुणनियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय र नापतौल तथा गुणस्तर विभागले संयुक्तरूपमा अनुगमन गर्छन्। वाणिज्यले मूल्य, खाद्यले खाद्यवस्तु, नापतौलले प्रमाणित ढकतराजु र जिल्ला प्रशासन कार्यालयले कालोबजारीका विषयमा नियमन गर्छन्।
यता उद्योगी, व्यवसायीहरूले सरकारले तर्साउनका लागि चाडपर्व लक्षित अनुगमन गर्ने गरेको बताउनु भयो । व्यापारीहरू देशको कानुनअनुसार व्यापार गर्न चाहेपनि सुरक्षित हुन नसकेको उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेश उपाध्यक्ष दुर्गाराज श्रेष्ठले बताउनु भयो । आपूर्ति व्यवस्था सहज नहुदाँ , ढुवानी कठिन हुदाँ चाडवाडको समयमा थोरै मँहगी बढेको बताउनु भयो।