काठमाडौं, असोज १२ । चीनमा आयोजना हुने एसियन गेम्स २०२२ मा ८ वटा इ स्पोर्टसले डेब्यु गर्नेछन् । एसियन भर्जनको पब्जी मोबाइल, दोटा टु, ड्रिम थी्र किंगडम्स टु, इए स्पोर्टस फिफा ब्राण्डेड सकर गेम्स, हार्थ स्टोन, एसियन भर्जनको अरिना अफ भालोर, लिग अफ लेजेण्ड्स र स्ट्रीट फाइटर फाइभलाई सफ्टवेयरमा आधारित खेल हुन जसलाई एसियाली ओलम्पिक काउन्सिलले मान्यता दिएको छ ।
यदि तपाईलाई २०१८ को एसियन गेम्सको सम्झना छ भने प्रदर्शनी खेलका रुपमा अनलाइन गेम्स खेलाइएको पक्कै याद होला । त्यती बेला टुर्नामेन्ट जित्नेलाई स्वर्ण रजत र कास्य दिइएको थियो । तर त्यो पदकलाई तालिकामा राखिएको थिएन । तर यस पटक कुल २४ वटा पदकका लागि प्रतिस्पर्धा हुनेछ । र सबै पदक गनिनेछन् ।
के हो इ स्पोर्टस र यसको अवस्था?
इ स्पोर्टस भनेको चाहिँ व्यवसायिक अनलाइन गेमरहरुको क्षेत्र हो । जहाँ गेमरहरु प्रतिस्पर्धात्मक ढंगले सहभागिता जनाउँछन् । एक भन्दा बढि प्रतिस्पर्धीसँग एकै पटक यसमा खेल्न अथवा भिड्न सकिन्छ । जसलाई रियल टाइम गेमिङ पनि भनिन्छ । यसको इतिहास धेरै पुरानो त छैन तर छोटो समयमा लोकप्रिय भएको र व्यवसायिक रुपमा अघि बढेको प्लेटफर्म भने भन्न सकिन्छ ।
इ स्पोर्टसको २०१२ बाट ग्लोबल मार्केटमा यो सुरु भएको हो । इन्टरनेटको प्रयोगकर्ताहरु बढेसँगै इस्पोर्टसले प्रतिस्पर्धात्मक प्रतिायेगिताहरु सञ्चालमा ल्याउन थालेको हो । यी प्रतिस्पर्धामा एकल, डबल अथवा समुहमा प्रतिस्पर्धा गर्न सकिन्छ । पछिल्लो वर्षहरुमा यसका प्रयोगकर्ता र आम्दानी दुवै बढेको न्यु जु(इ स्पोर्टसको अनुसन्धान गर्ने पोर्टल)ले तथ्यांक निकालेको छ ।
२०२० सम्मको तथ्याङकलाई पल्टाउने हो भने सात अर्ब ७६ करोड ६४ लाख भन्दा बढि मानिस इस्पोर्टसमा आबद्ध छन् । भने यसबाट इ स्पोर्टस सञ्चालकहरुले एघार सय करोड डलरभन्दा माथिको आम्दानी गरिरहेका छन् । स्मार्ट फोनको प्रयोग र योसँगै भित्रिएको अनलाइन गेमिङ इ स्पोर्टसको माग बढ्नुको कारण रहेको अनुसन्धानले बताउँछ ।
पब्जी मोबाइल, स्ट्रीट फाइटर, दोटा जस्ता मोबाइल गेमले झन् प्रतिस्पर्धालाई उकालो लगाएको हो । यसको क्षेत्रिय देखि विश्वस्तरिय प्रतिस्पर्धा समेत हुने गरेको छ । र बढ्दो आकर्षण पनि छ । गेमरहरुले अनलाइन खेलेर अथवा फेसबुक तथा युट्युबबाट लाइभस्ट्रीम गरेर मनग्य आम्दानी समेत गरिरहेका छन् ।
इ स्पोर्टसमा नेपालको सम्भावना
नेपालमा आज भन्दा सात, आठ वर्ष अगाडि फर्केर हेर्ने हो भने साइबर तथा प्ले स्टेशनमा ९–२५ वर्ष उमेरका बाल बालिकाहरु स्ट्रीट फाइटर, रोड रेस, टेकन जस्ता खेलहरु खेलिरहेको देखिन्थे । क्याफे कल्चर पनि यसको प्रमुख कारण नै हो । २०१७ मा लोड सेडिङको अन्त्य भएपछि स्मार्ट फोनको प्रयोगमा व्यापकता आयो । अनलाईन गेमिङको माग झन् बढ्न थाल्यो । २०२१ सम्म आइपुग्दा हजारौँको संख्यामा नेपाली गेमरहरु ग्लोबल प्लेटफर्ममा प्रतिस्पर्धा गरिहेको भेटिन्छ ।
नेपालमा पब्जी, फ्रिफायर, सिओडि आदि सबैभन्दा धेरै डाउनलोड गरिने खेलमा पर्छन् र विशेष गरि पब्जीमा नेपाली गेमरहरुले धेरै सफलता र लोकप्रियता पाएको देखिन्छ । डिआरएस गेमिङ नेपालको नम्बर एक पब्जी स्क्वाड हो । पछिल्लो पटक यो समहुले पब्जी प्रो लिग साउथ एसिया २०२१ जितेको थियो । गत अप्रिल १५ देखि १८ सम्म भएको लिगमा उसले २४ खेल खेलेको थियो । र टिमले चार वटा चिकेन डिनर र ११५ किल्स गरेको थियो । साथै १० हजार अमेरिकी डलर समेत जितेको थियो ।
यस्तै फोरके गेमीङ, टु बी गेमर लाइभस्ट्रीम गरेर मनग्य आम्दानी गरिहरको छन् । भारतीय कम्पनीहरु पनि नेपाली स्क्वाड खरिद गर्ने र व्यवसायिक शर्त अनुसार उनिहरुलाई तलब दिने गरिरहनु भनेको नेपाल पनि व्यवायिकरुपमा इ स्पोर्टसमा अघि बढेको देखिन्छ ।
अनलाइन गेमले बच्चा बिगार्यो
संघीय संसद भवनमा अनलाइन खेलमा प्रतिबन्ध लाउनु पर्छ भनेर बहस पनि चलिरहेको छ । पब्जी फ्रिफायरले बाल बालिकामा नकरात्मक असर परेको समेत केही सासंदहरुले जिकिर गरेका थिए । समय र आफ्नो क्षमता अनुसार यसको प्रयोग गरेमा मनग्य आम्दानी गर्न सकिने व्यवसायिक इ स्पोर्टस गेमरहरुले देखाएका छन् । साथै एसियन गेम्सले समेत मान्यता दिएपछि त यसलाई बन्देज नभई प्रोत्साहन गर्नुपर्ने देखिएको छ ।