Kath khabar
रियल मड्रिड डेब्यू क्लब शरिफ तिरास्पोलसँग पराजित

काठमाडौं, असोज १३ । च्याम्पियन्स लिगमा डेब्यू गरेको शरिफ तिरास्पोलले अनुभवी रियल मड्रिडलाई हराएको छ ।

च्याम्पियन्स लिग अन्तर्गत समूह डी मा रहेको रियल मड्रिड मंगलबार राति भएको खेलमा शरिफ तिरास्पोलसँग २–१ ले पराजित भएको हो । खेलकेो २५ औँ मिनेटमा याख्शिबोएभले गोल गरी शरिफलाई अग्रता दिलाउनु भयो ।

६५ औं मिनेटमा भने करिम बेन्जिमाले रियललाई गोल गर्दै खेलमा फर्काउनु भयो । उहाँले पेनाल्टीमा गोल गर्नु भयो ।  तर ८९ औँ मिनेटमा सेबास्टियन थिलले शरिफका लागि विजयी गोल गर्नु भयो । त्यसपछि खेलमा दुवै पक्षबाट गोल हुन सकेन ।

१३ पटक उपाधि जितेको रियल मड्रिड पहिलोपटक च्याम्पियन्स लिगमा सहभागी भएको शरिफसँग पराजित भएको हो । लगातार दुई जित निकालेको शरिफ ६ अंकसहित शीर्ष स्थानमा छ ।

तीन अंकसहित रियल मड्रिड दोस्रो स्थानमा रहेको छ । सोही समूहको अर्को खेलमा इन्टर मिलान र शाख्तर डोनेस्कले गोलरहित बराबरी खेलेका छन् ।

मंगलबार राति भएका अरु खेलमा अजाक्सले बेसिक्टासलाई २–० तथा बोरुसिढा डर्टमण्डले स्पोर्टिङ्गलाई १–० ले पराजित गरेको छ ।

 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update