काठमाडौं, असोज १३ । नेपाल राष्ट्र बैंकले पहिलो महिना (साउन) मा सहुलियतपूर्ण कर्जास्वरुप झन्डै दुई खर्ब रुपैयाँ वितरण गरेको छ। राष्ट्र बैंकले सहुलियत पूर्ण कर्जा सबैभन्दा बढी रकम व्यावसायिक कृषि तथा पशुपन्छी व्यवसाय र सबैभन्दा कम सीटीईभीटीबाट अनुमति लिएका संस्थाबाट तालिमका लागि प्रदान गरेको छ। उसले साउनमा व्यावसायिक कृषि तथा पशुपन्छी व्यवसायको लागि एक खर्ब १२ अर्ब ७४ करोड र सीटीईभीटीबाट अनुमति लिएका संस्थाबाट तालिमका लागि ३० हजार सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ।
यस्तै सोहि समयमा महिला उद्यमशीलता कर्जा ५५ अर्ब ७८ करोड ७० लाख, कपडा उद्योगहरुका लागि दुई अर्ब २७ करोड २० लाख, दलित समुदाय व्यवसाय विकासका लागि ६० करोड ६० लाख, विदेशबाट फर्केका युवा परियोजना कर्जा ६० करोड ७७ लाख, शिक्षित युवा स्वरोजगार कर्जा छ करोड ३४ लाख, भूकम्प पीडितहरुको निजी आवास निर्माणको लागि पाँच करोड ४२ लाख, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षाको लागि दुई करोड ८९ लाख, युवा स्वरोजगारको लागि ३१ लाख र सीटीईभीटीबाट अनुमति लिएका संस्थाबाट तालिम प्रदान गर्नका लागि तीन लाख रुपैयाँ कर्जा स्वरुप प्रदान गरेको छ ।
झन्डै दुई खर्ब ऋण लिने ऋणीको संख्या एक लाख ११ हजार चार सय ७१ जना हुनुहुन्छ । राष्ट्र बैंकका अनुसार ऋणीहरु मध्ये व्यवसायिक कृषि तथा पशुपन्छी व्यवसाय ४८ हजार चार सय ९८ जनाले, शिक्षित युवा स्वरोजगकार कर्जा एक सय ४५ जनाले, विदेशबाट फर्केका युवा परियोजना कर्जा आठ सय ५९ जनाले लिनु भएको हो । यस्तै महिला उद्यमशीलता कर्जा ६० हजार तीन सय २२ जनाले, दलित समुदाय व्यवसाय विकास कर्जा एक हजार १५ जनाले, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा दुई सय ३३ जनाले , दुई सय ६६ वटा कपडा उद्योगहरुले , सीटीईभीटीबाट अनुमति लिएका संस्थाबाट तालिकमा लागि दुई जनाले र युवा स्वरोजगार कर्जा नौ जनाले लिनु भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
पछिल्लो समय सहुलियतपूर्ण कर्जामा आर्कषण बढको बैंक तथा वित्तीय संस्थाहरुले बताएका छन्। विदेशबाट फर्केका, शिक्षित युवाहरु लगायतका संस्थाले व्यवसायिक कृषि तथा पशुपन्छी व्यवसायमा लगानी गर्न अग्रसर हुदाँ कर्जा बढेको बैंक तथा वित्तीय क्षेत्रले बताएको छ। यस्तै युवाहरु भने कर्जा सहज तरिकाले पाउनु पर्ने बताँउदै आएका छन्। कीर्तिपूर, भत्कापाटेका अनिल विष्टले सरकारले सहजै सहुलियतपूर्ण कर्जा दिने बताए पनि बैंक तथा वित्तीय संस्थाले त्यसलाई आत्मसाथ नगर्दा युवाहरु कर्जा लिन समस्या भोग्नु परेको बताउनु भयो ।