काठमाडौ, असोज १३ ।गैरआवासीय नेपाली संघको आगामी निर्वाचनमा अध्यक्षका प्रत्यासी डा. बद्री केसीले मध्यपूर्व क्षेत्रका महाधिवेशन प्रतिनिधिहरुसंग अन्तरक्रिया गर्नु हुने भएको छ ।
गैरआवासीय नेपाली संघको महिला उपाध्यक्षकी प्रत्यासी यसमिन बेगम सैयदका अनुसार केसीले आफ्नो अजेण्डासंग सहमत केही उम्मेदवार सहित आगामी शुक्रवार (१ अक्टोवर) का दिन ती प्रतिनिधिहरुसंग छलफल गर्न लाग्नुभएको हो ।
नेपाली समय साँझ ६ बजे देखि शुरु हुने कार्यक्रममा प्रतिनिधिहरु, राष्ट्रिय समितिका अध्यक्षहरुसंग अन्तरक्रिया तथा सुझाव संकलन गर्ने तयारी गरिएको छ । कार्यक्रमलाई उपाध्यक्षका उम्मेदवारहरु डा हेम राज शर्मा, महेश श्रेष्ठ, डिबी क्षेत्री, धर्मराज अधिकारी, यासमिन बेगम सैयद, महासचिव पदका उम्मेदवार गौरीराज जोशी, कोषाध्यक्ष पदका उम्मेदवार लोक प्रसाद दाहाल, सचिव पदकी उम्मेदवार टिक गुरुङ लगायतले सम्वोधन गर्ने कार्यक्रम तय गरिएको छ । मध्यपूर्वमा संघका छ वटा राष्ट्रिय समिति सक्रिय रहेका छन्।
यसअघि डा. केसीले मंगलवार एशिया क्षेत्रीय प्रतिनिधिहरुसंग छलफल गर्नुुभएको थियो । करिब तीन सय ५० जना सहभागी कार्यक्रममा बिभिन्न देशका राष्ट्रिय समितिका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका दिनुभएको थियो । कार्यक्रममा संघको नेतृत्वको लागि बिभिन्न पदमा रहेका उम्मेदवारहरुले आआफ्नो अजेण्डा प्रस्तुत गर्नुुभएको थियो ।
यसैबीच अध्यक्षका प्रत्यासी डा. बद्री केसीको सचिवालयले दिएको जानकारी अनुसार केसीले आगामी हप्ता देखि बिभिन्न देशमा रहेका प्रतिनिधिसंग प्रत्यक्ष अन्तरक्रिया गर्नुहुने भएको छ । गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन अक्टोवर २३ देखी २५ सम्म काठमाण्डौंमा हुदैछ ।