काठमाडौं, असोज १४ । काठमाडौं उपत्यकामा मास्क नलगाएका यात्रुलाई सार्वजनिक सवारीमा चढ्न रोक लगाउने निर्णय गरिएको छ । बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सो निर्णय गर्नु भएको हो। स्थानीय प्रशासनले सार्वजनिक सवारी साधनको ढोकामा अनिवार्य सेनिटाइजरको व्यवस्था गर्न यातायात व्यवसायीहरुलाई निर्देशन दिनु भएको छ ।
कोभिड संक्रमणको जोखिमका कारण तीन वटै प्रशासनले सार्वजनिक सवारी अनिवार्य रुपमा दैनिक सेनिटाइज गर्नुपर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले बताउनु भयो ।
चाडपर्वको बेला सवारी साधनको छतमा यात्रा गर्न प्रशासनले प्रतिबन्ध लगाएको छ । होटल, रेष्टुरेण्ट र सिनेमा हलमा सामाजिक दुरी कामय गर्नुपर्ने आदेश जारी गरिएको छ । कोभिड संक्रमणको जोखिम कायमै रहेको भन्दै प्रशासनले भिडभाड र जुलुस तथा भोज गर्न रोक लगाउने पुरानो निर्णयलाई निरन्तरता दिएको समेत उहाँको भनाई छ ।
यस्तै, बिहीबार देखि अनावश्यक रूपमा भिडभाड, मेला र महोत्सव गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अर्को आदेश नभए सम्मका लागि आज रातिदेखि यस्तो व्यवस्था लागू गरेको हो ।
बैठकले घर बाहिर मानिसहरू जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने निर्णय गरेको छ । बैठक गोष्टठी, सेमिनारहरू गर्नु परे भर्चुअल माध्यमबाट गर्नुपर्ने उल्लेख छ ।
यदि गर्नै पर्ने भएमा स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने उल्लेख गरिएको छ । कोभिडको कारणले गर्दा सर्तकर्ता अपनाउने पर्ने बताँउदै भीड नगर्नको लागि बन्देजहरु राखिएको बताइएको छ।