Kath Khabar
जिपी कोइराला अस्पतालमा हर्नियाको सफल शल्यक्रिया

काठमाडौँ, असोज १५ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा हर्नियाको सफल शल्यक्रिया गरिएको छ ।

स्थानीय ७४ वर्षीय पुरुषको दायाँ साइडको हर्नियाको उपचार केन्द्रका चिकित्सकले सफल शल्यक्रिया गरेका हुन् । केन्द्रले पहिलोपटक हर्नियाको शल्यक्रिया गरेको सर्जन डा परिवर्तन बरालले जानकारी दिनुभयो । डा बराल र एनेस्थेसियोलोजिष्ट डा रमेश घिमिरेले डेढ घण्टाको समयमा ती पुरुषको शल्यक्रिया गर्नुभएको हो । ढाडमा सुई लगाई लठ्याएर शल्यक्रिया गरिएको छ ।

दायाँ साइडको हर्नियाका कारण ती पुरुषको अण्डकोष फुलिएको थियो । पोखरास्थित गण्डकी अस्पतालमा शल्यक्रियाका लागि कात्तिकमा समय लिएका उहाँले जिपीमा नै शल्यक्रिया गराउनुभएको हो । “हर्नियाको शल्यक्रियाका लागि पोखरा वा अन्यत्र जानुपथ्र्यो, अब सर्वसाधारणलाई सहज हुन्छ”, डा बरालले भन्नुभयो । 

सो अस्पतालले यसअघि भदौ पहिलो साता मलद्वार फाटेका बिरामीको सफल शल्यक्रिया गरेको थियो । उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले हर्निया र मलद्वार फाटेको शल्यक्रियालाई निरन्तरता दिइने जानकारी दिनुभयो । उपचार केन्द्रमा हाडजोर्नी विशेषज्ञ डा विद्याभूषण ताम्राकारबाट हाडजोर्नीको शल्यक्रिया नियमितरूपमा भइरहेको जनाइएको छ । 

अस्पतालमा तीन विशेषज्ञ र नौ मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ ।

अस्पतालमा बिहान १० देखि अपराह्न ४ बजेसम्म ओपिडी सेवा, चौबीसै घण्टा आकस्मिक सेवा, ल्याब, भिडियो एक्सरे सेवा, माइनर शल्यक्रियालगायत सेवा दिइरहेको छ ।  

(रासस) 

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update