Kath khabar
कोरोना नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रमबाट ६६ हजार सात सय ४७ जना लाभान्वित

काठमाडौं, वैशाख १५ । कोभिड-१९ को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी यसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीद्वारा पछिल्लो २४ घण्टामा संचालित चार सय ९१ वटा सचेतनामूलक कार्यक्रमबाट जम्मा ६६ हजार सात सय ४७ जना लाभान्वित भएका छन् । 
कोभिड-१९ को संक्रमण रोक्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको हो । अभियानको क्रममा पछिल्लो २४ घण्टामा  १७ हजार नौ सय ४७ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । मास्क नलगाई हिँडडुल गर्ने ३० हजार आठ सय ८३ जनालाई होल्डिङ जोनमा राखी सम्झाई बुझाई छाडिएको छ । तोकिएको मापदण्ड उल्लंघन गर्ने एक हजार दुुई सय ७१ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ । साथै मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन प्रहरीले सबैमा अनुरोध समेत गरेको छ ।
नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड-१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनहरूको चेकजाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रमहरू संचालन गरेको छ । 
कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update