काठमाडौं, वैशाख १६ । खाने तेलमा एक वर्षमा मात्रै तेल उद्योगीले एक लिटमरै ८० रुपैँया बढाएका छन् । यसरी अस्वाभाविक रुपमा भाउ बढाउँदा पनि सरकार भने मौन बसेको देखिन्छ ।
अहिले भटमासको तेलको मूल्य प्रतिलिटर २ सय ३० रुपैयाँ छ । जुन एक वर्षअघि १ सय ५० रुपैयाँ प्रतिलिटिरमा खरिद गर्न मिल्थ्यो। त्यस्तै अहिले सनफ्लावर तेलको मूल्य २५० र धारा तोरीको तेल प्रतिलिटर ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत वर्ष १ सय ५० मा कारोबार भएको भटमासको तेल गत दसैँमा केहि महंगीएर १ सय ७५ पुग्यो । त्यसपछि भने तेल उद्योगीले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै माघसम्म आउँदा प्रतिलिटर २ सय २५ पुराए । अस्वााभाविक रुपमा भाउ बढेको भन्ने गुनासो आएपछि सरकारले अनुगमन थाल्यो ।
यसैबिचमा भारतले पनि आफ्नो देशमा भटमासको कच्चा तेलको आयात बढ्यो । जसका कारण भारत जाने भटमासको तेलमा केहि कमिसँगै सरकारको नियमनका कारण फेरी मूल्य घटेर गत फागुन अन्त्यसम्म प्रतिलिटर २ सय १० सम्म झर्याे । तर अहिले फेरी बढेर यो प्रतिलिटर दुई सय तीस सम्म पुगेको छ ।
बढेको तेलको मूल्यमा अहिले खुद्रा ब्यापारीले बिल समेत पाउन नसकेको गुनासो गर्छन् । थोक ब्यापारीले अहिले एक कार्टुन अर्थात १० लिटरलाई २१ सय रुपैयाँमा बेच्ने तर १९ सयको मात्रै बिल दिने गरेको खुद्रा ब्यापारी बताउँछन् ।
चर्काे मूल्य असुलेको गुनासो आएपछि सरकारले उद्योगमाथि अनुगमन नगरेको पनि होइन । गत माघ ५ गते अप्राकृतिक रुपमा तेलको मूल्य कायम गरेको भन्दै बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बारा जिल्लाको अन्नपुर्ण भेजिटेबल प्रा. लि. र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालीलाई उपभोक्ता हित संरक्षण ऐन बिरुद्ध हुने गरि अप्राकृतिक रुपमा मूल्यबृद्धि गरेको भन्दै ३ लाख रुपैयाँ जरिवाना पनि गरियो । तर पनि उद्योगीले फेरी अहिले मूल्य बढाउन सुरु गरेका छन् ।
यसरी अप्राकृतिक रुपमा मूल्य कायम गरेर उपभोक्ता ठग्नेले करोड माथि कमाउने र सरकारले ३ लाख मात्रै कारवाही गरेर उन्मुक्ती दिने गरेकाले उनिहरुलाई झनै मूल्य बढाउन हौसला मिलेको उपभोक्ताकर्मि बताउँछन् ।
उपभोक्ताकर्मि ज्योती बानीया भन्छन् ‘ सरकारले उद्योगीलाई कारवाही गरेजसो गरि बचायो, के कसरी मूल्य बढ्यो भनेर उद्योगीबाट सरकारले प्रमाण खोज्नुपर्छ, यदि खरिद गरेको भाउँ भन्दा २० प्रतिशत नाफा खाएको भए यो सरासर ठगि हो । ’
विभागले तीन लाख भन्दा बढि कारवाही गर्न सक्ने व्यवस्था छैन । कि त उपभोक्ता हित संरक्षण ऐन नै संसोधन गरि ठगि बराबरको जरिवाना गर्नुपर्याे कि त विभागले यस्तोमा कारवाही नगरि ठगि मुद्दा अनुसार अदालतमा मुद्दा चलाउनुपर्याे । अन्यथा अन्तर्राष्ट्रिय बजारमा १० देखि १५ प्रतिशत कच्चा तेलको भाउ बढ्दा यहाँ ५३ प्रतिशतसम्म भाउ बढाउने क्रम रोकिने छैन ।