Kath khabar
युरोप अमेरिका पढ्न जानेबाट बाहिरिने रकम दोब्बरले बृद्धि, खाडीबाट आउने रकममा पनि कमि

काठमाडौं, असोज १७ । मुलुकका युवा केहि खाडी छन् त केहि युरोप अमेरिका । अमेरिका र युरोप जानेहरु उतै सेटल हुनका लागि अधिकांश पैसा उतै खर्चिन्छन् । तर, खाडी जानेहरु भने कमाएको रकम नेपालमै पठाउँछन् ।

रेमिट्यान्समा ठूलो हिस्सा खाडीले ओगटेको छ । जुन पनि यो समय घटेको देखिएको छ । विप्रेषण आप्रवाह १८.१ प्रतिशतले कमी आई ७५ अर्ब ९६ करोड कायम भएको  छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.० प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाख पुगेको राष्ट्र बैंक बताउँछ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १३ हजार ८ सय पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो ।

नेपाल बाहिर पढ्न जानेहरुबाट बाहिरिने रकममा भने बृद्धि भएको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार भ्रमण व्यय २ सय १७.९ प्रतिशतले वृद्धि भई  ५अर्ब १२ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय ३ अर्ब ४७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १ अर्ब ६१ करोड रहेकोमा शिक्षातर्फको व्यय १ अर्ब ४१ करोड रहेको थियो ।

अर्थात बिदेश पढ्न जानेहरुका कारण बाहिरिने रकम दोब्बरले बढेको छ । यो वर्षको पहिलो महिना सम्ममा खुद सेवा आय १० अर्ब १२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३ अर्ब ९ करोडले घाटामा रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १ सय १८.६ प्रतिशतले वृद्धि भई १ अर्ब ३३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६० करोड ८० लाख रहेको थियो ।

पुँजीगत ट्रान्सफर ३८.० प्रतिशतले कमी आई ६७ करोड ९७ लाख रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६५.५ प्रतिशतले कमी आई.४८ करोड ६ लाख कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब १० करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ३९ करोड रहेको थियो ।

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update