Kath khabar
एनआरएनएको वर्तमान नेतृत्वमाथि सुनियोजित षड्यन्त्र : महासचिव डा. शर्मा

काठमाडौं, असोज १७ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव तथा उपाध्यक्ष पदका प्रत्यासी डा. हेमराज शर्माले कोरोनाकालमा गरिएका उद्धार तथा पुनःस्थापनकासँग जोडेर एनआरएनए नेतृत्वमाथि सुनियोजित आरोप लगाइएको बताउनुभएको छ ।

मध्यपूर्वका एनआरएनए प्रतिनिधिहरुलाई भर्चुअल रुपमा सम्बोधन गर्नुहुदैं डा. शर्माले कोरोनाकालमा संस्थाको परीक्षा भएको र त्यसमा वर्तमान नेतृत्व उच्च अंकसहित पास भएको बताउनुभयो । आफूहरु संघप्रति सधै इमान्दार रहेको जनाउँदै डा. शर्माले कुनै आर्थिक वा अन्य गलत गतिविधिमा संलग्न भएको भए प्रमाणित गर्न चुनौति दिनुभयो । ’हामी यहीँ छौ, एनआरएनए छाडपनि हामी हाम्रो ठेगाना दिन तयार छौं,’ उहाँले चुनौति दिंदै भन्नुभयो, ’संयुक्त राष्ट्रसंघ वा कहाँ गएर छानविन गराउने हो गराए हुन्छ ।’

एनआरएनएको पुर्वनिर्धारित चुनाव रोक्न शक्तिकेन्द्रको आडमा परराष्ट्र मन्त्रालयमा गरिएको उजुरीलाई लक्षित गर्दै डा.शर्माले ’संस्थालाई कुनै दलमा वा परराष्ट्र मन्त्रालयमा बुझाएर कसैको भलो हुँदैन ।’ विगत फर्जी मतदान गर्नेहरुले अनलाईन भोटिङको व्यवस्थापछि आफूले चलखेल गर्न सक्ने नदेखेपछि मन्त्रालय गुहारेका उहाँले बताउनुभयो ।

तोकिएको चुनाव समयमै गर्न र संस्थालाई चलायमान बनाउनुको विकल्प नरहेको डा. शर्माको भनाइ छ । त्यसका लागि विवाद उत्पन्न भएका देशका प्रतिनिधिहरुलाई चुनावी प्रक्रियाबाट अलग गर्न सकिने पनि उहाँको भनाइ छ ।

एनआरएनएलाई पार्टीको अंग बनाउन चाहनेहरुले निशुल्क सदस्यको विरोध गरेका भन्दै एनआरएनएका सम्पूर्ण सदस्यले नै मतदान गर्ने व्यवस्था गर्न आफू तयार रहेको र त्यसका लागि अन्यलाई पनि चुनौति दिनुभएको छ ।

मध्यपूर्वमा रहेका नेपालीहरुका समस्या पहिचान गर्ने र नेपाल सकारलाई झक्झकाउनका लागि दोस्रो महाधिवेशन कतारमा आयोजना गरिएको प्रष्ट पार्नुभयो । मध्यपूर्वलाई सुरुमा एनआरएनए अभियानबाहिर राख्न सरकारी तवरबाटै प्रयास भएको जनाउँदै डा. शर्माले त्यसलाई रोक्न आफूहरुले निकै मेहनत गरेको स्मरण गर्नुभयो ।

 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update