काठमाडौं, असोज १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप छ सय ७९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल १० हजार नौँ सय २० वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार एक सय ६४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार चार सय पाँच जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार आठ सय चार पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप दुई सय ५५ जना संक्रमित भएकाछन । जसमध्ये काठमाडौंं जिल्लामा दुुई सय २२, ललितपुर जिल्लामा २० र भक्तपुर जिल्लामा १३ जनामा संक्रमण पुष्टि भएको छ । यो समेत गरी हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या तीन हजार आठ सय ८५ रहेको छ ।