दिल्ली, वैशाख १६ । चेन्नाइ सुपर किंस, सनराइजर्स हैदराबादलाइ सात विकेटले पराजित गर्दै पुन: इन्डियन प्रिमियर लिग आइपिएलको शीर्ष स्थानमा उक्लिएको छ ।
दिल्लीमा टस जितेर ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । जारी आइपिएलमा दिल्लीमा भएको यो पहिलो खेल हो । ओपनर जोनी ब्रेस्टो टिमको स्कोर २२ रन हुदा पहिलो विकेटका रुपमा आउट हुनु भएको थियो । उहाँले सात रन जोड्नु भयो । डेविड वार्नर र मनिष पान्डेले दोस्रोे विकेटका लागि १ सय ६ रन बनाएपछि सनराइजर्सले सम्मानजक योगफल बनाएको थियो । रनका लागि संघर्ष गरेका वार्नरले ५५ वलमा ५७ र मनिषले ४६ वलमा ६१ रन जोड्नु भयो । केन विलियम्सन २६ र केदार जादव १२ रनमा अविजीत रहनु भयो । लुंगी एनगिडीले दुइ र साम करणले १ विकेट लिनु भयो । जवाफमा चेन्नाइले १८ ओभर ३ वलमा मात्र तीन विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो ।
ऋतुराज गायकवाडर र फाप डु प्लेसीले पहिलो विकेटका लागि १ सय २९ रनको उत्कृष्ट साझेदारी गर्दै चेन्नाइको जीतको आधार तयार गर्नु भएको थियो। गायकवाडले १२ चौकाको मदतमा ४४ वलमा ७५ रनको योगदान गर्नुभयो । डु प्लेसीले ५६ रन जोड्नु भयो । मोइन अलीले १५ रन बनाउदा सुरेश रैना १७ रनमा नट आउट रहनु भयो । पहिलो खेल हारेको महेन्द्र सिंह धोनीको टोली चेन्नाइको त्यसपछि यो लगातार पांचौ जीत हो । उसको ६ खेलबाट १० अंक छ । दोस्रो स्थानको रोयल च्यालेन्सर्ज बैङलोरको पनि सामान खेलबाट दश अंकनै छ । तालिकाको पसच्छारमा रहेको सनराइजर्सको भने ६ खेलमा यो पांचौ हार हो । आइपिएलमा आज अपरान्ह पौने चार बजे मुम्बइ इन्डियन्स र राजस्थान रोयलस तथा सांझ पांने आठ बजे दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्स बीच खेल हुनेछ ।