काठमाडौं, असोज १८ । पछिल्लो सयम नेपाल आउने पर्यटकको संख्यामा सामान्य बढेको पाईन्छ । सोहि क्रममा पछिल्लो ९ महिनामा करिब ७७ हजार पर्यटकले नेपाल भ्रमण गरेका नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार सन् २०२१ को जनवरीदेखि सेप्टेम्बरसम्ममा ७६ हजार ८ सय ६४ पर्यटक नेपाल भित्रिएका हुन् ।
सेप्टेम्बरमा मात्र ९ हजार ८ सय ९८ जना पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ । सेप्टेम्बरमा सबैभन्दा बढी पर्यटक भारतबाट ३ हजार ५ सय २३ जनाले नेपाल भ्रमण गरेका छन् । दोश्रोमा अमेरिकाबाट १ हजार ८ सय ६४ जना छन् ।
बोर्डका अनुसार सार्क मुलकबाट पर्यटक आगमन दर ३८ प्रतिशतले वृद्धि भएर ३ हजार ७ सय ३४, एसियाबाट ६ प्रतिशतले वृद्धि भएर ५ सय ५८, यूरोपबाट १८ प्रतिशतले बृद्धि भएर १ हजार ७ सय ३३,अमेरिकाबाट १९ प्रतिशतले वृद्धि भएर १ हजार ८ सय ६४ र अन्य मुलुकबाट १७ प्रतिशतले वृद्धि भएर १ हजार ६ सय ४० जना पुगेको छ ।
सन् २०१९ मा ११ लाख ५२ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२० मा २ लाख ३० हजार ८५ पर्यटक नेपाल भ्रमण गरेका थिए । सन् २०१९ को अन्त्यबाट चीनबाट फैलिएको कोेभिड–१९का कारण विश्वभर नै पर्यटन गतिविधि र पर्यटक आवागमनमा प्रतिबन्धका कारण पर्यटन क्षेत्र सुस्ताएको थियो ।