Kath khabar
५६ लडाकु विमान प्रवेश सँगै चीन र ताइवानबीच तनाव

काठमाडौं, असोज १८ । चीनका लडाकु विमान ताइवानको क्षेत्रमा प्रवेश गरेको छ । सोमबार चीनका ५६ वटा लडाकु विमान आफ्नो हवाई सुरक्षा क्षेत्रमा प्रवेश गरेपछि ताइवानले चीनलाई चेतावनी दिएको छ । यो सँगै ताइवानले उक्साहटमा ल्याउने खालका गतिविधि नगर्न चीनलाई सुझाव दिएको छ ।

चीनको हवाई सेनाले अहिलेसम्म ताइवानको हवाई क्षेत्रमा यति ठूलो संख्यामा लडाकु विमान उडाएको पहिलो घटना हो ।

पछिल्लो समय बढेको तनावका लागि चीन प्रमुख दोषी रहेको ताइवानले बताएको छ । तर चीनले ताइवानसँग तनावको अवस्था आउनुमा अमेरिका दोषी रहेको आरोप लगाउँदै आएको छ ।

यसअघि पनि चीनले करिब ४० वटा सैनिक जहाज ताइवान भूमि प्रवेश गराएको थियो । त्यसको केहि दिन पछि नै चीनले पुन लडाकु विमान ताइवान क्षेत्रमा प्रवेश गराएको हो ।

चीनले ताइवानलाई आफ्नो एक प्रान्तका रुपमा लिने गरेको छ। तर ताइवान भने आफू स्वतन्त्र सर्वाभौम देश रहेको बताउँछ।

ताइवानले विगत एक वर्षभन्दा बढी समयदेखि चीनले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाउँदै आएको छ। तर चीनले भने आफ्नो सुरक्षा र ताइवान तथा अमेरिकाबीचको सहकार्यलाई निशाना बनाउन यस्ता कार्य गर्ने गरेको बताउने गरेको छ। एजेन्सी

 

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update