काठमाडौं, असोज १८ । विभिन्न संस्थाहरुले सरकारलाई तिर्नु पर्ने राजस्व नबुझाएको वर्षौ बिति सकेको छ । निजी संस्थाहरुले राजस्व नतिर्दा भने सरकारी कार्यालयहरु आजित भएको पाईन्छ । सरकारी कार्यालय कारबाही प्रक्रिया अघि बढाउने भन्दै वक्यौता रकम तिर्नको लागि निजी संंस्थाहरुलाई ताकेता गर्दै आए पनि उनीहरु भने कानमा तेल हालेर बसेको पाईन्छ।
पछिल्लो समय क्यासिनो तथा वायु सेवा कम्पनीहरुले सरकारलाई तिनु पर्ने रोयल्टी रकम नतिर्दा सरकारी निकायहरु समस्यामा परेका छन् । विभिन्न होटलमा क्यासिनो सञ्चालन गरेर रोयल्टी रकम नतिर्नेमा अन्नपूर्ण इन्टरनेशनल प्रा.लि दरबारमार्ग, होटेल एभरेष्ट इन्टरनेशनल प्रा.लि नयाँ बानेश्वर, होटेल सोल्टी प्रा.लि ताहचल र ह्यापी आवर प्रा.लि रहेको कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयले जानकारी दिएको छ ।
वर्षें बित्दा पनि चार वटा क्यासिनो सञ्चालकहरुले सरकारलाई बझुाउनुपर्ने करिब ३५ करोड रुपैयाँ बुझाएका छैनन् । क्यासिनो सञ्चालन गरे बापत् अन्नपूर्ण इन्टरनेशनलले १४ करोड ९९ लाख ६९ हजार, होटेल एभरेष्ट ईन्टरनेशनल प्रा.लिको १३ करोड २८ लाख ४१ हजार , होटेल सोल्टी प्रा.लिको सात करोड ८६ लाख ३३ हजार र ह्यापी आवर प्रा.लिको छ करोड ८९ लाख २७ हजार रोयल्टी सरकारलाई बुझाँउन बाँकी रहेको छ भने यिनीहरुका सञ्चालक अर्थात् क्यासिनो अन्नपूर्ण ईन्टरनेशनल प्रा.लिका महाप्रवन्धक तप्त बहादुर विष्ट, होटेल एभरेष्ट ईन्टरनेशनल प्रा.लिका सञ्चालक मशकुर अहमद, होटेल सोल्टी प्रा.लि सञ्चालक दिनेश बहादुर विष्ट र ह्यापी आवर प्रा.लिसञ्चालक सुरेन्द्र बहादुर सिंह हुनुहुन्छ ।
क्यासिनो सञ्चालकहरु रोयल्टी तिर्नुको साटो सर्वोच्चमा रिट निवदेन दिएको पाईन्छ । सरकारलाई तिनुपर्ने रकम नतिरेर आफैं गल्ती गर्ने अझै न्याय माग्न गएर रोयल्टी नतिर्ने बहानबाजी क्यासिनो सञ्चालकहरुले गरेको कार्यालयका अधिकारीहरु बताउनु हुन्छ ।
अन्नपूर्ण, एभेरष्ट , सोल्टी र ह्यापी मात्र नभई कार्यालयले फागुन पहिलो सात अन्य पाँच वटा क्यासिनोले करिब एक अर्ब ४३ करोड रोयल्टी नबुझाएको भन्दै सार्वजनिक सूचना निकालेको थियो भने उनीहरुले रकम नतिरेमा जायजेथा तफत गर्ने समेत बताएको थियो । तीनपुस्ते विवरण सार्वजनिक हुनेमा क्यासिनो सञ्चालक राकेश बाधवा (भारत), पियुष बहादुर अमात्य (पोखरा), राधेश्याम सराफ(काठमाडौं), सुरेन्द्र बहादुर सिह र केटसरिन सीम्हना लगायत रहेका थिए ।
क्यासिनो मात्र होइन एयरलाईन्स कम्पनीहरुले समेत सरकारलाई तिनुपर्ने वक्यौता नतिरेको पाइएको छ । वक्यौता रकम नतिरे सँगै ९ एयरलाइन्स कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी दिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जानकारी दिएको छ ।
क्यानले गत १२ भदौमा सूचना निकालेर करोडौं बाँकी बक्यौता बुझाउन एयरलाइन्सलाई ताकेता गरेको थियो । क्यानअन्तर्गत रहेका विभिन्न नागरिक उड्डयन कार्यालय वायुसेवा कम्पनीले बुझाउनुपर्ने रकम पटकपटक सूचना गर्दा पनि नबुझाएको भन्दै पुनः यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्रमा उक्त रकम बुझाई आफ्नो हरहिसाब फरफारक गर्न अनुरोध गरेको थियो ।
तोकिएको मितिभित्र रकम नबुझाएमा सम्बन्धित कम्पनी र सञ्चालकलाई कालोसूचीमा राख्ने तथा प्रचलित ऐनअनुसार सञ्चालक, एकाघरका परिवारका एवं जमानी बस्नेको जायजेथाबाट सरकारी बाँकी बक्यौता असुल उपर गरिने सूचनामा उल्लेख गरिएको थियो ।
प्राधिकरणका अनुसार बक्यौता रकम तिर्न बाँकी रहेकामा नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउन्टेन एयर, कस्मिक एयर, स्काइलाइन एयरवेज र एयर काष्ठमण्डप छन् ।
साथै सञ्चालनमा रहेका वायुसेवा कम्पनी एवं सञ्चालनमा रहेका र नरहेका पार्टीलेसमेत सार्वजनिक सूचना प्रकाशित गर्नु नपर्ने गरी नियमानुसार बुझाउनुपर्ने रकम निर्धारित अवधिभित्र बुझाउनसमेत क्यानले आग्रह गरेको छ । प्राधिकरणको विवरणमा नेकोन एयरका सञ्चालकमा दीपमणि राजभण्डारी, दीपक राज कोइराला, अनुप शमशेर जबरा, मुकुन्दभक्त श्रेष्ठ, रवीन्द्र श्रेष्ठ, मृगेन्द्र जोशी छन् । सो एयरलाइन्सले प्राधिकरणलाई चार करोड ७२ लाख २५ हजार ३४३ रुपैयाँ तिर्न बाँकी छ ।
त्यस्तै मणिन्द्रलाल रञ्जितकार सञ्चालक रहेको शिवानी एयरका ले रु. ५५ लाख ५१ हजार ५३ तिर्न बाँकी छ भने अल्पाइन एयरका सञ्चालक प्रदीपमान सिंह, सुरेन्द्रबहादुर मल्ल र महेश्वरभक्त श्रेष्ठले रु. ७२ हजार ७२८ बक्यौता तिर्न बाँकी छ । गोरखा एयरका सञ्चालन प्रज्वल श्रेष्ठ र डा उज्वल श्रेष्ठले रु. २० लाख ३५ हजार २९ तिर्नु रहेको छ भने कर्णाली एयरले रु. १७ लाख ४६ हजार ३०० बक्यौता तिर्न बाँकी छ । सो एयरका सञ्चालकमा नारायणसिंह पुन र सविना राई पुन छन् ।
यसैगरी प्रज्ञान शमशेर जबरा, सिद्धिदा राणा र शिवेन्द्रबहादुर बस्नेत सञ्चालक रहेको माउन्टेन एयरले रु. १२ लाख ७३ हजार ६९४ बक्यौता तिर्नुपर्ने देखिएको छ भने कस्मिक एयरका रवीन्द्रप्रसाद प्रधानले रु. तीन करोड ४७ लाख ५८ हजार ७० तिर्नुपर्ने देखिएको छ ।
स्काइलाइन एयरवेजले पनि रु. १५ लाख ५० हजार ४०० बक्यौता दिनुपर्ने देखिएको छ । सो एयरवेजको सञ्चालकमा आङ छिरिङ शेर्पा, पेम्बा छिरिङ शेर्पा, मिङमा दोर्जे शेर्पा, तेञ्जिङ नोर्बु शेर्पा र यादव खरेल छन् । यस्तै काष्ठमण्डप एयरको सञ्चालकमा प्रज्वल श्रेष्ठ, उज्वल श्रेष्ठ, हमाद अली जावोर (कतार) छन् भने उनीहरुले रु. सात लाख ३८ हजार ४४७ बक्यौता तिर्न बाँकी छ ।
क्यानका अनुसार नेपाल एयरवेजले पाँच लाख ५० हजार बक्यौता रकम तिरेको छ । शिवानी एयर र स्काईलाइन एयरवेजले तिर्ने प्रतिबद्धता जनाएका छन् ।