Kath Khabar
कसरी फैलियो कपिलवस्तुमा झाडापखाला ?

तौलिहवा, असोज २० कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । नगरको वडा नं.७,८,९ मा राति १२ बजे देखि बान्ता र झाडापखाला लाग्ने बिरामीको सङ्ख्या ह्वातै बढेको हो । प्रकोपका कारण दुई जनाको ज्यान गएको छ भने सयौँ बिरामी अस्पताल भर्ना भइरहेका छन् ।एक जना बिरामीको अस्पतालमा र अर्का एकजनाको निजी क्लिनिकमा मृत्यु भएको बताइएको । स्थानीय क्लिनिकमा पनि बिरामीको चाप रहेको कृष्णनगर स्वास्थ्य शाखाले जनाएको छ ।

दूषित पानीको कारण झाडापखला फैलिएको हुन सक्ने अनुमान गरिएको छ । तर यकिन भने हुन सकेका छैन । जिल्ला अस्पतालबाट चिकित्सकको विज्ञ टोली शिवराज अस्पताल पठाइएको छ ।

झाडापखालका कारण स्थानीय शिवराज अस्पताल बहादुरगंजमा हिजो रातीदेखि उपचारकोलागि सयौँ बिरामीहरू आइरहेका छन् । नगरपालिकाको बहादुरगंज , सुखरामपुर , देवानगढिया , जमुनी , दयानगर, विजयनगर ,जुमिला, डबरा लगायतका गाउँमा झाडा पखाला र बान्ताका बिरामी निरन्तर बढ्दै गएको  स्वास्थ्य शाखाले जनाएको छ ।

झाडापखालाबाट एउटै गाउँका ६२ जनासम्म बिरामी परेका छन् । बिरामी पर्नेमा धेरैजसो बालबालिकाहरु रहेका छन् । गम्भीर बिरामी परेकाहरुलाई जिल्ला अस्पतालमा र लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको छ ।

स्थानीयका अनुसार अहिलेसम्म बालबालिका, युवा र वृद्ध गरेर दुई सय भन्दा बढी बिरामी परेको बताएका छन् ।

 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update