काठमाडौं, असोज २० । कोइला अभावका कारण छिमेकी मुलुक भारत र चीन दुवै उर्जा संकटको अवस्थामा रहेका छन् । तर, नेपालमा भने खपत गर्न नसकेर बिजुली खेर फाल्नुपर्ने स्थिति आएको छ ।
भारत सरकारसँग बिजुली बेच्नका नेपाल विद्युत प्राधिकरणले अनुमति मागेको ६ महिना बित्यो । तर, भारतले अहिले सम्म नेपालाई खरिदका लागि अनुमति दिएपनि बेच्नका लागि भने अनुमति दिएको छैन । साढे तीन वर्ष अघि उर्जा मन्त्रालयले तयार गरेको उर्जा क्षेत्रको राजनीतिक नेतृत्व र कर्मचारीले समयमै भारतसँग बिजुली बेच्नका लागि पहल गर्न नसक्दा आइतबार मात्रै एक दिनमा प्राधिकरणले १ करोड ५० लाख रुपैयाँ बराबरको बिजुली खेर फाल्नुपरेको छ ।
नेपालमा ग्राहकले औसतमा प्रतियुनिट १० रुपैयाँमा बिजुली बाल्न पाउँछन् । जबकी यहि बिजुलीको मूल्य भारतमा प्रतियुनिट २० रुपैयाँसम्म पुगेको छ । कर्मचारी तथा राजनीतिक नेतृत्वको सुस्तताका कारण छिमेकी मुलुकमा अभावका कारण बढेको मूल्यमा बिजुली बेचेर पैसा कमाउने अवसर गुमाएको छ ।
बिद्युत प्राधिकरणका अनुसार भदौ यता औसतमा दैनिक १५ सय मेगावाट आवर बिजुली खेर गइरहेको छ । अर्थात गत ४५ दिनमा मात्रै प्राधिकरणले ६७ करोड रुपैयाँ बराबरको बिजुली बेच्न नपाएर खेर पाल्नुपर्यो ।
असोज कात्तिक महिनामा खोलामा सफा पानी बहने भएकाले बिद्युत उच्च मात्रामा उत्पादन गर्न सक्ने समय हो । यहि समयमा फेरी चाडपर्व पर्ने भएकाले उद्योगबाट बिजुलीको माग ह्वात्तै कम हुन्छ । यतिमात्रै होइन अझ यो समयमा न पंखा चलाउनु पर्छ नत हिटर, यसैले घरायसी ग्राहकबाट हुने मागमा पनि भारी गिरावट आउँछ । जसका कारण प्राधिकरणले भोग्नुपर्ने क्षति अबका दिनमा झनै बढेर जाने देखिन्छ ।
विद्युत् प्राधिकरणले गत चैतमा भारतको उर्जा मन्त्रालयमा बिजुली बेच्नका लागि अनुमति मागेको थियो । अनुमति मागेको ६ महिना बित्दासम्म भारतले यसमा स्वीकृति दिने कुनै आधार तय हुन सकेको छैन ।
गत फागुनमा भारत सरकारले अन्तरदेशीय विद्युत ब्यापार सम्बन्धी कार्यविधि बनाउँदै चीन लगायत अन्य मुलुकको लगानीमा बनेका आयोजनाको विद्युत खरिद नगर्ने बताएको छ । जसका कारण प्राधिकरणले पहिलो चरणमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी र ४५ मेगावाटको भोटेकोसी आयोजनाको विद्युत भारतमा बेच्नेगरि प्रस्ताव गरेको हो । तर, आजका दिनसम्म भारत यसमा समेत सकारात्मक हुन सकेको छैन । सरकारले समयमै बिजुली बेच्नका लागि पहल गर्न नसक्दा जनताको लगानीमा बनेका आयोजनाको विद्युत् खेर जाने स्थिति आएको छ ।