Kath Khabar
नेपालमा थप ७६४ जनामा कोभिड १९ को संक्रमण पुष्टि

काठमाडौंं, असोज २२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप सात सय ६४ जनामा कोरोना  भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल १० हजार छ सय ८८ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार दुई सय १० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ३३ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार छ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप तीन सय २२ जना संक्रमित भएकाछन । जसमध्ये काठमाडौं जिल्लामा दुई सय २९, ललितपुर जिल्लामा ६८ र भक्तपुर जिल्लामा २५ जनामा संक्रमण पुष्टि भएको छ । यो समेत गरी हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या तीन हजार सात सय चार रहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update