Kath khabar
कुन्दुज शहरमा रहेको मस्जिदमा आत्मघाती आक्रमण, कम्तीमा ५० जनाको मृत्यु

काबुल, असोज २३ । अफगानिस्तानको कुन्दुज शहरमा रहेको मस्जिदमा आत्मघाती बम आक्रमणमा कम्तीमा ५० जनाको ज्यान गएको छ । अमेरिकी सैनिकले अफगानिस्तान छोडेयता भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।

सइद अबाद मस्जिदमा बम आक्रमणमा मारिएकाहरुको शव छरिएको अवस्थामा देखिएको स्थानीय अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । अल्पसंख्यक शिया मुसलमान समुदायको सो मस्जिदमा आक्रमण भएको हो ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसा उत्तरी शहर कुन्दुजमा भएको सो आक्रमणमा एक सय भन्दा बढी मानिस घाइते भएका छन् । इस्लामिक स्टेट (आइएस) ले आक्रमणमा आफ्नो संलग्नता रहेको बताएको छ । सुन्नी मुसलमान अतिवादी समूहले शिया समुदायमाथि आक्रमण गर्ने गरेको छ ।

शुक्रबारको प्रार्थनाका लागि श्रद्धालु मस्जिदभित्र जम्मा भएका बेला आत्मघाती आक्रमणकारीले आफैलाई बिस्फोट गराएको जनाइएको छ । आक्रमण भएका बेला ३०० भन्दा बढी मानिस मस्जिदमा रहेको स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अफगानिस्तानको टोलो न्यूजले जनाएको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।

यो हप्ता अफगानिस्तानमा भएको तीन ठूला आक्रमण मध्ये शुक्रबारको आक्रमण भयानक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

यसअघि आइतबार काबुलमा मस्जिद नजिकै भएको आक्रमणमा सातजनाको ज्यान गएको थियो । यस्तै बुधबार खोस्ट शहरमा रहेको मदर्सामा भएको आक्रमणमा भएको थियो ।

अमेरिकी सैनिक फिर्ता भएसँगै अफगानिस्तानमा अहिले तालिबानको शासन छ । तालिबानले अगस्ट १५ मा काबुल नियन्त्रणमा लिएको थियो । अमेरिकी सैनिक अगस्टको अन्तिममा स्वदेश फर्किएका थिए ।

इस्लामिक स्टेटको अफगानिस्तानको समूह आइएस–के ले तालिबान सत्ताको विरोध गर्दै आएको छ । उसले लगातार जस्तो हिंसात्मक आक्रमण समेत गर्दै आएको छ । एजेन्सी

 

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update