काठमाडौं, असोज २३ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शनिबार देखि काठमाडौंमा खसीबोकाको बिक्री सुरु गरेको छ। खाद्यले सुपथ मुल्यमा खसीबोका बिक्री गर्न लागेको प्रधान कार्यालयका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिनु भयो ।
उपत्यकाका लागि थापथलीमा रहेको प्रधान कार्यालयबाट खाद्य खसीबोका बिक्री गर्न लागेको हो । खाद्यले शनिबार बिहान मकवानपुर र दाङबाट गरी ५ सय ३० खसीबोका काठमाडौं भित्र्याएको छ। यस वर्षको दसैँमा खाद्यले दाङबाट ८ सय र मकवानपुरबाट एक हजार दुई सय खसीबोका काठमाडौं ल्याउने तयारी गरेको छ।
खाद्यले खसीबोकाको खरिद मूल्य प्रतिकिलो अधिकतम ५ सय ६५ रुपैयाँ तोकेको छ भने बिक्री मूल्य प्रतिकिलो ६ सय ४० रुपैयाँ निर्धारण गरिएको जनाएको छ।
मासु व्यवसायीहरुले पनि दसैंका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन्।
व्यवसायीले खसीको आन्द्राभुडी राखिएको मासु प्रतिकिलो एक हजार, बोसो राखिएकाको १ हजार २ सय र ग्राहकले रोजेअनुसारको मूल्य १ हजार ३ सय रुपैयाँ निर्धारण गरेका हुन्।
यस्तै, कुखुराको मासु प्रतिकिलो ३ सय, राँगा र बंगुरको मासु ५–५ सय रूपैयाँ तोकिएको छ।