काठमाडौं, असोज २३ । स्वदेशमा पर्याप्त रोजगारीको अवसर नहुदाँ युवाहरु विदेशिनु बाहेकको विकल्प छैन । सरकारले मुलुकमो रोजगार सम्वन्धि उपयुक्त कार्यक्रम निर्माण गरी कार्यान्वयन नगर्दा युवाहरु वाध्यतावश विदेशिनु परेको छ । विदेशिएका युवाहरुले असुरक्षा, तनाव लगायतका कारणले गर्दा अकालमा ज्यान गुमाउन परेको छ । विदेशमा ज्यान गुमाउने युवाहरुको संख्यामा कमी नआएको भने सरकारी तथ्यांकले देखाउने गरेको छ ।
यस्तै, वैदेशिक रोजगार बोर्डका अनुसार विगत १४ वर्षको अवधिमा नौ हजार दुई सय ३७ जना नेपाली युवाहरुले विदेशी भूमिमा ज्यान गुमाएका छन् । विदेशमा रहेका युवाको हृदयाघात, सडक दुर्घटना, आत्महत्या र कार्यस्थल दुर्घटना मुख्य कारणले गर्दा ज्यान जाने गरेको छ । यसका साथै हत्या समेत हुने गरेको पाइन्छ भने विभिन्न अध्ययन अनुसन्धानले सो कुरालाई पुष्टि गरिसकेको छ ।
आर्थिक वर्ष २०७७÷०७८ मा १ हजार ७३ जना, आर्थिक वर्ष २०७६÷०७७ मा ६ सय ७१ र २०७५÷०७६ मा ७ सय ६३ को विदेशमा युवाहरुको ज्यान गएको सरकारी तथ्यांक छ । आर्थिक वर्ष २०७१÷०७२ मा एक हजार छ जना, आर्थिक वर्ष २०७२÷०७३ मा आठ सय १६ जना, आर्थिक वर्ष २०७३÷०७४ मा सात सय ५६ जना, आर्थिक वर्ष २०७४÷०७५ मा आठ सय २२ जना युवाहरुको विदेशमा ज्यान गएको छ । आर्थिक वर्ष २०६५÷०६६ मा ७७ जना युवाको ज्यान गएको छ ।
तथ्यांकअनुसार मलेसियामा सबैभन्दा धेरै ३ हजार ९८ नेपाली श्रमिकको निधन भएको छ । साउदी अरबमा २ हजार ५ सय १३ जना, कतारमा १ हजार ७ सय ९० जना, संयुक्त अरब इमिरेटस (युएई) मा ९ सय १ जना, कुवेतमा ३ सय २४ जना, बहराइनमा १ सय ३१ जना, दक्षिण कोरियामा १ सय ४२ जना, ओमानमा ६६ जना युवाहरुले ज्यान गुमाएका छन् । यस्तै जापानमा ३७ जना, अफगानिस्तानमा २५ जना, लेबनानमा २१ जना, जोर्डनमा १३ जना, इजरायलमा ८ जना, ब्रुनाईमा ३ जना, अल्जेरियामा २ जना युवाले ज्यान गुमाएका छन् । यस्तै नेपालमा पनि ९५ जना युवाले ज्यान गुमाएको पाइन्छ ।
विशेष गरी श्रम गन्तव्य मुलुक खाडीका ६ वटा राष्ट्र र मलेसियामा धेरै युवाहरुले ज्यान गुमाएको पाइन्छ । अन्तर्राष्ट्रिय संघरसंस्थाहरुले पनि आप्रवासी कामदारहरुको लागि खाडीका ६ मुलुक र मलेसिया असुरक्षित रहेको प्रतिवेदन सार्वजनिक गरेको पाइन्छ । यति थाहा पाउँदापाउँदै पनि नेपाली युवाहरु भने मुलुकमा रोजगारी नभएकै कारण खाडी तथा मलेसिया गइरहेका छन् ।
एमनेस्टी इन्टरनेसनलले भदौमा सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुरुप कतार नेपाली तथा आप्रवासी कामदारको लागि सुरक्षित नभएको तथा रोक्नसक्ने मृत्युलाई समेत नरोकेको बताएको छ । एमनेस्टीको प्रतिवेदनले कतारमा कार्यरत दुई सय जना नेपाली कामदारको मृत्युलाई रोक्न सक्नेमा त्यसलाई नरोकेको बताएको छ। कार्डियोलोजी नामक जर्नलमा प्रकाशित सन् २०१९ मा गरिएको एक अध्ययनले कतारमा नेपाली श्रमिकको गर्मी र मृत्युबीचको सम्बन्ध रहेको कुरा पत्ता लगाएको थियो। सन् २००९–२०१७ को अवधिमा भएको पाँच सय ७१ जना नेपाली अप्रवासी श्रमिकहरूकोे मुटुको समस्याको कारणले भएका मृत्युहरूमध्ये दुई सय जना जतिको मृत्युलाई रोक्न सकिन्थ्यो भन्ने उक्त अध्ययनले निष्कर्ष निकालेको थियो ।
अकाल मृत्यु र असुरक्षित काम गर्ने वातावरणबीच सम्बन्ध रहेको प्रमाण हुँदाहुँदै पनि गएको दशकमा भएका हजारौँ आप्रवासी श्रमिकहरूको मृत्युको अनुसन्धान गर्न कतारी अधिकारीहरू असफल रहेको कुरा एमनेस्टी नेपालले सार्वजनिक गरेको हो ।