Kath khabar
स्वराजले ल्यायो ९६३ एफई मोडेलको फोर ह्विल ट्रयाक्टर

काठमाडौ, असोज २३ । नेपाली बजारमा स्वराज कम्पनीको ९६३ एफई मोडेलको फोर ह्विल ट्रयाक्टर भित्रिएको छ । चाडवाडको अवसरमा आकर्षक उपहार योजनासहित स्वराजले सो मोडेल लन्च गरेको हो ।
स्वराज ट्रयाक्टरको आधिकारिक बितरक ओम्नी अटो मोबाइलले गण्डकी प्रदेशको पोखरामा शुक्रबार आयोजना गरेको एक समारोहबीच सो ट्रयाक्टर लन्च गरेको हो । स्वराजका नेपाल प्रमुख मनोज दल्भी, ओम्नी अटोमोबाइलका प्रबन्ध निर्देशक सन्दीप मोहता र ट्रयाक्टर एसोसिएसन, पोखराका अध्यक्ष प्रेमबहादुर थापाले ट्रयाक्टर लन्चको औपचारिक शुरुआत गर्नुभएको थियो ।
स्वराजले यसअघि पनि नेपालमा विभिन्न मोडेलका ट्रयाक्टर बिक्री गर्दै आएको थियो । कम्पनीले फोर ह्विल ट्रयाक्टर पहिलो पटक भित्र्याएको ओम्नी अटो मोबाइलका प्रबन्ध निर्देशक मोहताले बताउनुभयो । नेपालको पहाडी भूभागमा यो मोडेलको ट्रयाक्टर उपयोगी हुने मोहताको दाबी छ ।

१०० जनाभन्दा बढी ग्राहकको सहभागिता रहेको कार्यक्रमकै अवसरमा ५ जनाले ट्रयाक्टर खरीद गर्नुुभएको छ । उहाँहरूलाई सोही समारोहमा ट्रयाक्टरको साँचो हस्तान्तरण गरिएको थियो । कम्पनीले चाडपर्वको अवसरमा ग्राहकका लागि विभिन्न आकर्षक योजनाहरू ल्याएको बताएको छ । पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा, ३२ इन्चको रंगिन टेलिभिजन, फ्रिजलगायतका उपहार योजना पनि राखिएको कम्पनीले बताएको छ । कम्पनीका सबै प्रकारका मोडेलमा ६ वर्षसम्मको वारेन्टी दिइएको र यो अन्य कम्पनीहरुको भन्दा बढी भएको बताइएको छ ।
सबै प्रकारका पाजपूर्जाको उपलब्धता रहने पनि कम्पनीले जानकारी दियो ।

कार्यक्रममा सेल्स मेनेजर हरजित सिंहले कम्पनीको नेटवर्क र प्रदान गर्ने सेवाका बारेमा जानकारी गराउनुभएको थियो । स्वराजका बिक्री प्रबन्धक अभयकान्त मिश्रले ६५ हर्सपावर रेन्जमा यो मोडेलको विशेषता, उपयोगिता र प्रयोगका फाईदाका बारेमा ग्राहकलाई जानकारी दिनुभयो । अन्य ट्रयाक्टरको तुलनामा यो ट्रयाक्टरको तान्ने क्षमता १५ प्रतिशत बढी भएको पनि मिश्रले बताउनुभयो । इन्धन कम खपत गर्ने यो ट्रयाक्टर जोताई र लोडर तथा डोजर बनाएर व्यावसायिक प्रयोजनका लागि पनि उपयोगी हुने उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update