Kath khabar
इपिएलको उपाधि चितवन टाइगर्सले जित्यो

काठमाडौँ, असोज २३। चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि चितवन टाइगर्सले जितेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पोखरा राइनोजलाई चार विकेटले पराजित गर्दै चितवनले उपाधि जितेको हो । चितवनले पहिलोपटक उपाधि जितेको हो । उपाधिसँगै चितवनले रु ५० लाख प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको पोखराले रु १५ लाख पाएको छ ।

पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर पूरा गर्यो । चितवनको जितमा भीम सार्कीले ६३ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ४५ बलमा सात चौका र दुई  छक्का प्रहार गर्नुभयो । यस्तै दिलीप नाथले १८ रन जोड्दा राजेश पुलामीले १४ रन बनाउनुभयो । त्यस्तै मोहमद साहजदले ११ रन जोड्नुभयो भने कप्तान सोमपाल कामी चार रनमा अविजित रहनुभयो ।

पोखराका किशोर महतोले चार विकेट लिनुभयो भने नन्दन यादवले दुई विकेट झार्नुभयो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १११ रनमा समेटिएको थियो । पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए भने रिचार्ड लेभीले २६ रन जोड्नुभयो । विपिन रावलले १७, कप्तान विनोद भण्डारीले २२ तथा किशोर महतो एक रनमा रहनुभयो रहे ।

त्यस्तै विवेक यादव चार, रित गौतम दुई, सहन अर्चाचिगे दुई, विक्रम सोब एक रनमा आउट हुँदा लोकेश बम र नन्दन यादव खाता नखोली पेभेलियन फर्किनुभयो । पोखरालाई सस्तैमा समेट्ने क्रममा चितवनका कमलसिंह ऐरीले चार विकेट लिनुुभयो । यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले दुई/दुई विकेट लिनुुभयो । सोमपाल कामी र सागर ढकालको नाममा एक/एक विकेट रह्यो ।

व्यक्तिगत विधातर्फको उपाधि पनि चितवनकै बर्चस्व रह्यो । चितवनका स्पिनर सागर ढकाल प्लेयर अफ द सिरिज (सर्वोत्कृष्ट) खेलाडी चुनिनुभएको छ । उपाधिसहित उहाँले बजाज पल्सर एनएस २०० सिसी मोटरसाइकल प्राप्त गर्नुभएको छ । त्यस्तै चितवनकै भीम सार्की उदीयमान खेलाडी (इमर्जिङ प्लेयर) चुनिनुभएको छ । चितवनकै कमलसिंह ऐरी डेर टु ड्रिम अर्वाड पाउनुभएको छ । भीम र कमलले जनही रु  ५१ हजार प्राप्त गर्नुभएको छ ।

(रासस)

 

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update