काठमाडौं, असोज २४ । नेपाल राष्ट्र बैंकले तरलता अभाव हटाउनका लागि पटक पटक रिपो जारी गर्दा पनि समस्या हल हुन सकेको छैन । अन्तर बंैंक ब्याजदर चुलिन हटेको छैन । यता निक्षेपको ब्याज पनि उकालो लागिरहेको छ।
नेपाल राष्ट्र बैकले असार यता मात्रै १ सय ३ अर्ब बराबरको रिपो जारी गरिसकेको छ । तरपनि बजारमा तरलता अभाव हुन छाडेको छैन । अहिले पनि बैकहरु बीच अन्तर बैंक कारोबारको ब्याज ४ दशमलव नौ को हाराहारीमा रहेको छ। त्यस्तै तरलता १७ अर्बको हाराहारी मात्रै रहेको छ ।
बैक तथा वित्त संस्थामा लगानीयोग्य रकमको अभाव नहोस् भनेर ऋणपत्र जारी गर्ने व्यवस्था छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असारमा ९२ अर्ब रहेको यस्तो ऋणपत्र अहिलेसम्म बजारमा जम्मा १ सय ८ अर्ब पुगेको छ। यहि समयमा बैंक तथा वित्त संस्थाबाट प्रदान हुने कर्जामा भने भारी बृद्धि भएको छ ।
बजारमा तरलता अभाव भएपछि त्यसलाई सहज गर्न नेपाल राष्ट्र बैंकले ४ वर्ष अघि बैंकहरुलाई बिदेशी बैंक तथा वित्त संस्थाहरुबाट ऋण लिने सुविधा दिएको थियो । यो पनि अहिलेसम्म जम्मा ७ वटा बैंकले मात्रै यस्तो ऋण ल्याउन सकेका छन् ।
विदेशी बैंक तथा वित्त संस्थाले नेपालका बैंकहरुलाई पत्याउन सकेको देखिदैन । जसका कारण विदेशी बैंक तथा वित्त संस्थाबाट ऋण आउन सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म बैंक अफ काठमाडौ, माछापुच्छ«, लक्ष्मी, ग्लोबल, सनराइज, एनएमबी र सानीमा बैकले मात्रै यस्तो बिदेशी ऋण ल्याउन सफल भएका छन् ।
यसबाहेक २० वटा बैंकले बिदेशबाट ऋण ल्याउन सकेका छैनन् । देशको क्रेडिट रेटिङ नभएका कारण पनि बिदेशबाट ऋण ल्याउन बैंकहरुलाई समेत कठिन भएको छ ।
यस्तो विदेशबाट ल्याउने ऋण गत असारको तुलनामा २ अर्ब घटेको समेत देखिन्छ । किनभने गत असारमा यस्तो ऋण २५ अर्ब रहेको थियो । अहिले २३ अर्ब पुगेको नेपाल राष्ट्र बैंक बताउँछ ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण ल्याउन पाउने व्यवस्था गरेको छ। यस्तो ऋण ल्याउन राष्ट्र बैंकले भने अनुमति दिनुपर्ने व्यवस्था छ ।
यसरी बैंकहरुले विदेशी ऋण ल्याउने सँगै अन्य स्रोत व्यवस्थापन गर्न नसक्दा बैंकहरुमा तरलता अभाव देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले विदेशी ऋणसँगै ऋणपत्र बिस्तार र निक्षेप संकलन ठूलो मात्रामा बढाउन नसक्दा बैंकहरुमा तरलता अभाव चुलिएको छ।