Kath khabar
हामी चीनसामु झुक्ने छैनौँ : ताइवानकी राष्ट्रपति
ताइवानकी राष्ट्रपति साई इङ वेन

ताइपेई, असोज २५ । ताइवानले आफ्नो देशको भविष्य आफ्ना नागरिकको हातमा रहेको बताएको छ। यो सँगै ताइवानकी राष्ट्रपति साई इङ वेनले ताइवान सरकार चीन सामु नझुक्ने बताउनु भएको छ । चीनका राष्ट्रपति सी चिनफिङले ताइवानसँग जसरी पनि ‘शान्तिपूर्ण पुनर्मिलन’ गर्ने भनेको भोलिपल्ट वेनले ताइवान चीनसामु नझुक्ने बताउन भएको हो ।

राष्ट्रपति  सीले हालै आफ्नो सम्बोधनमा ताइवानसँग ‘पुनः एकीकरण’ गर्नुपर्ने बताउनु भएको थियो । सकेसम्म शान्तिपूर्ण प्रक्रिया अपनाइने बताउनु भएको सीले ‘पुनः एकीकरण’ को प्रक्रियामा बल प्रयोगको सम्भावना खारेज गर्नुभएको  छैन।

ताइवानकी राष्टपति साईले आफ्नो देशको सुरक्षा व्यवस्था बलियो बनाइराख्ने र आफ्नो भूमिमा कसैलाई पनि शक्तिको प्रयोग गर्न नदिने बताउनु भएको छ । समाचार संस्था रोयटर्सका अनुसार आइतबार राष्ट्रिय दिवसको र्‍यालीलाई सम्बोधन गर्ने क्रममा उहाँले भन्नुभयो , ‘हामी हाम्रो राष्ट्रिय सुरक्षा बलियो बनाउने क्रम जारी राख्ने छौँ र आफ्नो सुरक्षाका लागि प्रतिबद्ध छौँ ताकि कोही पनि ताइवानलाई त्यो मार्गमा जान बाध्य नपारियोस्, जुन चीनले हाम्रा लागि बनाइरहेको छ।’

‘चीनले जुन प्रस्ताव गरेको छ, त्यो प्रजातान्त्रिक होइन र ताइवानका लागि एक लोकतान्त्रिक तरिका पनि होइन। उसलाई हाम्रा दुई करोड ३० लाख मानिसको सम्प्रभुता पनि मिल्ने छैन’, साईले भन्नु भयो ।

ताइवान आफूलाई स्वतन्त्र सार्वभौम देश मान्छ। तर चीन भने ताइवान आफ्नो छुट्टिएको प्रान्तको रुपमा लिने गरेको छ। हालै १५० वटा चिनियाँ सैनिक विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेका थिए। त्यसले तनाव थप बढेका बेला चिनियाँ राष्ट्रपति सीले चिनियाँ क्रान्तिको ११० औँ वर्षगाँठका अवसरमा गरेको सम्बोधनमा ‘पुनः एकीकरण’ को प्रक्रिया पूरा गर्नुपर्ने बताएका थिए। एजेन्सी

 

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update