काठमाडौं, असोज २५ । दशैका लागि नयाँ नोट साट्ने आज अन्तिम दिन हो । आइतबार साझसम्म १२ अर्ब बराबरको नयाँ नोट साटिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
१२ अर्ब मध्ये ६ अर्ब रकम त बैंक तथा वित्त संस्थाहरुले सटहि गरेको नोट हो । बिगतका वर्षहरुमा करिब १० अर्ब बराबरको नोट साट्ने गरेकामा यसपालि १२ अर्ब अहिले नै पुगिसकेको छ । आजसम्ममा यस्तो रकम करिब १५ अर्ब पुग्ने राष्ट्र बैंक बताउँछ । दशैमा टिका लगाउँदा प्रयोग गर्नेगरि यस्तो नोट प्रतिब्यक्ति १८ हजार ५ सय सम्म सटही गर्न सकिन्छ ।
राष्ट्र बैंकसँगै उपत्यकामा २७ वटा वाणिज्य बैंकका १० वटा शाखाहरुबाट पनि नोट सटहि गर्न सकिन्छ । बैंकको आज कुन शाखाले नयाँ नोट वितरण गर्दैछ भनेर जान्नका लागि सम्वन्धित बैंकको वेबसाइटमा हेर्नमिल्ने व्यवस्था गरिएको छ । यसरी नयाँ सटहिका लागि भनेर बैंक तथा वित्त संस्थाहरुले ६ अर्ब बराबरको नयाँ नोट राष्ट्र बैंकसँग सटही गरेर लगिसकेका छन् ।
अन्य बैंकबाट पनि नयाँ नोट सटहि गर्न सक्ने व्यवस्था गरिएकाले बिगतका वर्षहरुमा जस्तो राष्ट्र बैंकमा नयाँ नोट साट्नेको घुँइचो भने यसपालि देखिएन । गत वर्ष त महामारीका कारण राष्ट्र बैंकले नोट सटहि नै गरेको थिएन । यसपालि राष्ट्र बैंकमा नोट सटहि गर्दा बिगतका वर्षहरुमा जस्तो सास्ती खेप्नु नपरेको नोट साट्न आउनेहरु बताउँछन् ।
दशैमा टिका लगाउँदा नयाँ नोट प्रयोग गर्ने प्रचलन छ । तर टिका लगाउने क्रममा नोटमा रङ र पानी लाग्दा नोट झुत्रो बन्छन् । नोट झुत्रो भएपछि नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकले वर्षमा ४० करोड बराबरको खर्चनु पर्छ । त्यसैले यस्तो खर्च कम गर्नका लागि नोटको प्रयोग गर्नेतर्फ आमजनता पनि सचेत हुन जरुरी छ ।
दशैका समयमा नयाँ नोट, नयाँ कपडा र खाद्यान्न खरिदका साथै भैपरी आउने खर्चका लागि भनेर सर्वसाधारणले बैंकबाट पैसा निकालेर राख्ने गर्छन् । जसका कारण दशैका समयमा बैंक तथा वित्त संस्थाबाट ठूलो रकम आमसर्वसाधारणको खल्तीमा पुग्ने गरेको छ ।
सोमबारसम्म कतिले रकम निकाले त यसका लागि सोमबार बेलुकासम्म पर्खनु पर्ने छ ।