काठमाडौं, असोज २७ । महामारीका कारण डिजिटल कारोबार गर्ने बढेका छन् । त्यस्तै एटिएम प्रयोगकर्ताको संख्यामा पनि भारि बृद्धि भएको देखिएको छ ।
गत वर्षको साउनसम्म ५४ लाख कारोबार एटिएमबाट भएकोमा एक वर्षमा यस्तो कारोबार २६ लाखले बढेर ८० लाख पटक पुगेको छ ।
महामारीका कारण मोबाइलबाट चलाउन मिल्ने वालेट प्रयोगकर्ताको संख्या पनि ह्वात्तै बढेको छ। डिजिटल वालेट प्रयोगकर्ता ६२ लाख बाट बढेर ९२ लाख पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अर्थात एक वर्षमै वालेट प्रयोगकर्ताको संख्या ३० लाखले बढेका छन् । कोरोना महामारीपछि डिजिटल कारोबार ह्वात्तै बढेको देखिएको छ । महामारीपछि वालेट प्रयोगकर्ता सँगै मोबाइल बैकिङ प्रयोगकर्ताको संख्या पनि भारि मात्रामा बृद्धि भएको छ ।
बैकिङ प्रयोगकर्ता एक वर्षमै ३१ लाखले बढेका छन् । लकडाउनको बिचमा नै स्कुलको फि, इन्टरनेट तथा बिजुलीको भुक्तानी गर्न बाध्य भएपछि यसले माबोइल बैकिङ प्रयोगकर्ता बढाएको हो ।
गत वर्षको साउन मसान्तसम्म १ करोड १४ लाख मोबाइल बैकिङ प्रयोगकर्ता थिए । जुन यो एक वर्षमा २७ प्रतिशतले बढेर १ करोड ४५ लाख पुगेका छन् । गत वर्षको चैतमा एकाएक कोरोना महामारी फैलिन सुरु गरेपछि सरकारले आकस्मिक रुपमा लकडाउनको घोषणा गर्याे । व्यवसायिक कारोबार ठप्प जस्तै भयो जसका कारण अर्थतन्त्र ओरालो दिशामा धकेलियो ।
सडकमा ओहोरदोहर गर्ने मानिसहरु घरमा टेलिभिजन र मोबाइल हेरेर बस्न बाध्य भए । यहि बाध्यताका बिचमा स्कुल तथा कलेजहरुले अनलाइनबाटै पढाई सुरु गरे । जसका लागि इन्टरनेटको बिल मोबाइल बैकिङ तथा वालेटबाट तिर्नुपर्याे ।
मोबाइलमा ब्यालेन्स र खाद्यान्न खरिदका लागि मोबाइल बैकिङबाट रकम तिर्नुपरेपछि महामारीले देशलाई डिजिटल कारोबारतर्फ जर्बजस्त रुपमा धकेल्यो । गत वर्षको चैत यता मात्रै मोबाइल बैकिङको कारोबार पटक २० लाख पटकले बढेको छ।
महामारीले सबथोक डामाडोल पारिरहँदा धेरैलाई डिजिटल कारोबारमा भने अभ्यस्त बनाएको छ । अब सरकारले स्थानिय निकाय देखि केन्द्रसम्मका सबै कार्यालयमा डिजिटल माध्यम मार्फत रकम भुक्तान गर्ने व्यवस्था मिलाउन सके यसले आम उपभोक्ताको समय मात्रै हैन भ्रष्टाचारलाई समेत नियन्त्रण गर्न सकिन्छ ।