ललितपुर, असोज ३०। जो व्यक्ति निस्वार्थ छ, उसले मात्र समाजसेवा गर्न सक्छ । जसले समाज सेवा गर्न सक्छ, उसले राजनीति पनि गर्न सक्छ, तर यि कुनै पनि कुरामा कुुनैपनि किसिमको स्वार्थ बाझिनु हुदैन अथवा भनौं स्वार्थ हुुनु हुदैन । स्वार्थबाट प्रेरित भएर गरिने कुनै पनि कार्य समाजसेवा हुनै सक्दैन, सायद राजनीति पनि हुन सक्दैन । यही सोच र मान्यताका साथ अघि बढ्नु भएको युवा व्यक्तित्व, राजनीतिज्ञ, समाजसेवी एवं ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष हुनुहुन्छ, लक्ष्मण रोक्का ।
टोल र समाजको विकासप्रति कटिवद्ध भएर लाग्नु भएका रोक्का पहिलो पटक चुनाव जितेर वडाध्यक्ष बन्नु भएको हो । सिंगो टोलको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, पुर्वाधार, खानेपानी, युवा स्वरोजगार एवं सीप विकास र शान्ति एवं समृद्धिमा वहाँको निकै ठुलो योगदान रहेको छ। वहाँको यही योगदानको उच्चसम्मान गर्दै उहाँको कार्यकालमा वडामा भएका उपलब्धिमुलक कार्यहरुको बारेमा काठ खबरकालागि बिमल पौड्यालले लिनुभएको अन्तर्वार्ताको सम्पादित अंश:-
कोभिड महामारीले विश्वका अधिकांश मुलुक सहित नेपाललाई पनि असर गर्यो, यो अवस्थामा महालक्ष्मी नगरपालिका वडा नम्बर ४ को स्थिति कस्तो रह्यो ?
अहिले हामी चाडवाड मनाउँदै छौ । सर्वप्रथम दशैं, तिहार तथा नेपाल सम्बत् र छठको सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना । अब कोभिडको कुरा गर्दा विश्वका अधिकांश मुलुक प्रभावित बनेको समयमा त्यसबाट महालक्ष्मी वडा नं ४ अछुतो रहन सकेन। अर्को कुरा हाम्रो वडामा ७७ जिल्लाका बच्चा, युवा, वृद्धहरुको बसोबास रहेको छ। तर सबैजना संयमित हुँदा महामारीले उग्र रुप लिन पाएन र धेरैको जीवन सुरक्षित बन्न पुग्यो । यति हुँदाहुँदै पनि दुःखद खबर भनेको ६ जनाले ज्यान गुमाउनु पर्यो । तर त्यसमा दीर्घरोगी र वृद्ध अवस्थाका मानिसहरु रहे ।
अर्को पक्ष हेर्दा स्वास्थ्य समूहको महत्वपूर्ण योगदान अर्थात् महामारीका समयमा पनि हरेक पल बिरामीको उपचार गर्न पुग्नाले गर्दा कोभिड पीडितहरु पनि बाँच्न पुगे । यस्तै जनप्रतिनिधि, उपभोक्ता समिति, महिला समुह, युवाहरुले सबै सुरक्षित रहनुपर्छ भनि स्वयं सचेत हुनु तथा अरुलाई सचेत गराँउदा हामीहरुले महामारीमा वडाको विषयमा धेरै दुखद खबरहरु सुन्नु परेन । पछिल्लो समय भने हामीले वडाका ९० प्रतिशतलाई कोभिड विरुद्धको खोप प्रदान गरेको हुँदा डराउनु पर्ने स्थिति छैन । सबै वडाबासी सुरक्षित हुनुहुन्छ ।
तपाईको चार वर्षिय कार्यकाल सकिन लागेको छ हालसम्म तपाईहरुले वडाबासीको हितमा राखेर के कस्ता कामहरु गर्नु भएको छ उपलब्धिहरु के के छन् ?
महालक्ष्मी वडाबासीहरुलाई मलाई निर्वाचित गराउनु भएकोमा धेरै धेरै धन्यवाद । मलाई जिताउन भनेको मलाई सामाजिक सेवा गर्ने मौका दिनु भएको हो, मैले पनि राजनीतिक व्यक्तित्व भएर पनि विशुद्ध सामाजिक सेवा गरेर अघि बढे । जसले गर्दा विभिन्न महत्वपूर्ण कामहरु गर्न सके। सबैभन्दा पहिले त काम तथा आयोजनाहरु निर्माण गर्नका लागि निश्चित कानुन, नीति नियम, कार्यविधि आवश्यक पर्छ ।
स्थानीय निर्वाचन मार्फत् प्राप्त जीतबाट हामीले काम गर्नका लागि कानुन र कार्यविधि निर्माण गरी काम अगाडि बढायौं जसले गर्दा महालक्ष्मी वडामा भौतिक पूर्वाधार, शिक्षा, जेष्ठ नागरिक लगायतको विषयमा सफलता प्राप्त गर्न सफल भयौं । जस्तै वडाको सम्पूर्ण स्थानमा सडक बाटो, गोरेटो बाटो र ढलको उचित व्यवस्थापन गर्न हामी सफल भयौं । हाम्रो वडामा चार वर्षअघि खानेपानीका सार्वजनिक धारा २५, २६ वटा थिए त्यसमा पानी आउदैन थियो, हामीले ती सम्पूर्ण धारामा पानी छाड्ने व्यवस्था गरी रकम थप गर्दै अघि बढेका छौं । छिटै नै ती धाराबाट पानी आउने छ । महालक्ष्मी ४ वडाको उत्तरतर्फ खानेपानीको लागि समन्वय गरेर दशैं तिहार लगत्तै सात सय पचास घरलाई २ वटा फिल्टर प्लान्ट जडान गरी निजी धारा दिने तयारीमा हामी छौं । वडा ४ को पश्चिमतिर सितापाखाका तल्लो भाग आनन्द वस्ती निर्माण कार्य, उत्तरगंगा टोल विकास र अफल फाँटमा पनि तीन सय पचास घरधुरीलाई पनि डिप बोरिङ गरेर घरघरमा धारा वितरण गरेका छौं । शुद्ध खानेपानी दिन सफल भएका छौं ।
यस्तै सितापाखा, ओचू, राजकूल, महेन्द्र आर्दश स्कुल चोक, सोल्खु एरियातर्फ पानीको अभाव छ सो अभाव पूर्ति गर्नका लागि कमलपोखरीमा डिप बोरिङ निर्माण गर्यौं र ट्याङकी तथा पानी फिल्टरको व्यवस्था गर्न ठेक्काको काम अघि बढाएका छौं निकट भविष्यमा त्यो सम्पन्न भई निजी धारामा पानी पुग्नेछ । ४ नम्बर भरि गोरेटो बाटोको हकमा ४ मिटर चौडाई ग्राबिल, कालोपत्रे र ढलानको काम गरिरहेका छौं । यस्तै वडामा भएको ८ मिटरको बाटोमा ५ किलोमिटर निर्माण सम्पन्न गरेका छौं भने त्यसमा ३ किलोमिटर कालोपत्र ढलान गरिसेकका छौं । २ किलोमिटर बाँकी छ त्यो पनि कालोपत्रे गर्ने योजना रहेको छ ।
सामुदायिक विद्यालय महेन्द्र आर्दशमा सिटीभिटीबाट सिभिल इञ्जिनियरिङ र कानुन (ल) र अन्य विभिन्न विषयको शिक्षा प्रदान गरेका छौं । त्यहाँ शिक्षित भएका विद्यार्थीलाई महालक्ष्मी नगरको योजनामा लगाई स्वरोजगार बनाउने कार्य गरेका छौं । सामुदायिक विद्यालय अन्तर्गत सूर्योदय बाल विकास आधारभुत विद्यालयमा ५०, ६० जनामात्र विद्यार्थीको संख्या रहेको छ, भौतिक संरचना राम्रो भए पनि त्यसमा थप सुधारको आवश्यकता भएको हुँदा विद्यालय व्यवस्थापन समितिसँग मिलेर काम गरेका छौं ।
वडालाई फोहोर रहित बनाउने उद्देश्यका लागि ढल व्यवस्थापनमा समेत विशेष ध्यान दिएका छौं । ढलको व्यवस्थापन गर्दा वडामा ९५ प्रतिशत ढल हालीसकेका छौं । ढलको निकासाको लागि पश्चिमतर्फ वडा १ र पूर्वतर्फ ३ र ५ वडासँग सहकार्य गरेका छौं, कर्मनाशा खोलाको करिडोर हुँदै हनुमन्ते खोलासँग पुर्याउने र त्यहाँबाट शुद्धिकरण (टिट्मेन्ट) प्लान्टमा पठाउने व्यवस्था गरेका छौं । सानो गोरेटो बाटोमा ब्लक छाप्ने, ढुङ्गा छाप्ने र परम्परागत ईटाँ छाप्ने काम समेत गरेका छौं । चुनावमा घोषणा गरे अनुरुप बालक, युवा र जेष्ठ नागरिक तथा वृद्धाहरुलाई जे जस्तो सेवा सुविधा दिने भनेको थियौं त्यो दिएका छौं । जसअनुरुप शिक्षा, स्वास्थ्य, सडक, यातायात, बिजुली, जेष्ठ नागरिकलाई राहत तथा भत्ता प्रदान गरेका छौं ।
वडाबासीको हितलाई ध्यानमा राखी हामीले ५ जना निर्वाचित अधिकारी, मेयरउपमेयर प्रशासकिय प्रमुख, कर्मचारी साथीहरुले बिहान ६ बजेदेखि राति ८ बजेसम्म आयोजनाहरुमा काम गरी पूर्णता दिएका छौं । हामीले गरेको काम सबै तहतप्कामा रहेका स्थानीय दाजुभाई दिदी बहिनीहरुले मनन समेत गर्नु भएको छ । त्यसैले गर्दा चार वर्ष भित्र करिब १ अर्ब बजेट ल्याउन समेत हामी सफल भएका छौं भने वडा नं ४ नमूना वडा बन्नेमा हामी विश्वस्त छौं । अबको ६/७ महिनामा हामी आयोजनाहरु तथा सम्पूर्ण कामलाई पूर्णता दिनेछौं ।
उपलब्धि हेर्दा तपाईले भने अनुरुप सफल भएको भन्न सकिन्छ । चाहेर पनि गर्न सक्नु नभएको योजना वा कामहरु कुनै बाँकी छन् ?
सबैभन्दा पहिले गर्नुपर्ने र चाहेर पनि गर्न नसकेको काम भनेको खानेपानीको रहेको छ। पाँच हजार घरधुरीलाई खानेपानीको व्यवस्था गर्नुपर्ने छ । तर, १५ सय घरधुरीलाई निजी धारा पानी वितरण गरेका छौं बाँकी घरधुरीलाई कमलपोखरी र मेलम्ची आयोजनाको खानेपानी पुर्याउनको लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी सकेका छौं भने त्यसमध्ये सर्वेको काम भने भइसकेको छ । कमलपोखरीको आयोजना सफल भएमा दुई हजार घरधुरीलाई पानी दिनेछौं । हाल त्यसको लागि ट्रान्समिटर हाल्न नसक्दा समस्या भएको हो, सो समस्या समाधान भएपछि काम अघि बढाउने छौं ।
वास्तवमा स्थानीय प्रदेश र संघले गर्ने काममा तात्पर्य नमिल्दा समय लाग्ने देखिदो रहेछ । प्राविधिकले गर्नुपर्ने काम अन्यबाट सम्भव नहुँदा र हामीले के गर्ने तथा संघले के गर्ने भन्ने विषय थाहा नहुँदा पनि समय लाग्ने रहेछ । वडाका दुईटा बाटो कालोपत्रे गर्न ३ वर्ष लाग्यो समन्वयको अभावका कारणले गर्दा, यदि वडाको हकमा भएको भए सो बाटो निर्माण गर्न करिब ७ महिना लाग्थ्यो ।
खानेपानीको हकमा पनि एउटा स्थानीयतहले, एउटा वडाले गरेर सम्भव नहुने रहेछ। इमाडोलको वडाहरु क्रमशः १,२,३,४ मा खानेपानीको अभाव छ। यहाँ मूल पनि छैन, मुहान पनि छैन । गोदावरीमा रहेको मूलबाट आएको पानी प्रयोग गर्नुपर्ने वाध्यता रहेको छ । २०५६ साल तिर निर्माण गरिएको गोदावरी खोलाको पानी व्यवस्थित गर्न लागेको छौं, यसको लागि काम अघि बढाएका छौं । उपभोक्ता समिति निर्माण गरी नगरपालिकाबाट ४० लाख बजेट विनियोजन गरेका छौं । घरघरमा खानेपानी लैजाने तयारी रहेको छ, पहिले वडा नं ४ त्यसपछि क्रमशः वडाहरु १,२ र ३ मा पनि लैजान्छौं । इमाडोलको सम्पूर्ण क्षेत्रमा पुर्याउने तयारी गरेका छौं। चाहेर पनि गर्न नसकेको र भविष्यमा सकारात्मक नतिजा आउने गरेर काम गरिरहेको योजना खानेपानीको रहेको छ ।
विकास निर्माणको काम गर्दा वडा वा नगरपालिकाको योजना कार्यान्वयन गर्दा जनस्तरबाट सहभागिता कस्तो रह्यो र त्यसमा पनि चुनौती विरोध आए ?
४ नम्बर वडामा सीमित ठाँउमा अवरोध तथा विरोधहरु भएको सुनिन्छ । केही समस्या भएकै हो । चुर्नौतीकोबीच पनि म के भन्न चाहन्छु भने ४ वडामा बौद्धिक व्यक्तित्वको जमघट छ । विभिन्न स्थानबाट आउनु भएको बौद्धिक व्यक्तित्व यहाँ हुनुहन्छ जसले गर्दा आफनो ठाँउ आफैं बनाउ भनेर उहाँहरु लाग्नु भएको छ । सो संख्या ठूलो छ ।
बौद्धिक व्यक्तित्वको कारण पुँजी थोरै राखेको ठाँउमा धेरै काम भएको छ। कमलपोखरीबाट दक्षिणतर्फ शितल हाइटतर्फ शोल्खू क्षेत्रमा जम्मा जम्मी ढलको काम दुई करोडको योजना थियो । नगरपालिका र वडाबाट जम्मा ४५ लाख मात्र विनियोजन गरेका थियौं बाँकी सबै स्थानीयले उठाएर पैसा राख्नुभएको हो, त्यति ठूलो रकम उठ्छ र सहभागिता, समन्वय र सहकार्य उल्लेखनीयरुपमा भएको छ कमी कमजोरी छैन । नीति, विधि र सिद्धान्त बुझेका व्यक्तित्व भएको हुँदा काम गर्न र कार्यान्वयन गर्न हामीलाई कहिले पनि अप्ठेरो भएन बरु हामी जनप्रतिनिधिहरु भन्दा पनि स्थानीयहरुले विकास निर्माणको काम गर्दा प्रक्रिया तथा योजना अघि बढाउन मार्गदर्शन दिनु समेत भएको छ र सोहि कुरालाई हामी आत्मसाथ गरी अघि बढ्दा वडाको भौतिक पूर्वाधार, शैक्षिक क्षेत्र, खानेपानी, बिजुली लगायतका क्षेत्र विकास भएको छ । अर्कोतर्फ अहिलेसम्म हामीहरु विनियोजित भएका सबै योजना सम्पन्न गर्न सफल भएका छौं । प्रदेश, संघ र स्थानीय तह गरेर ७६ वटा योजनाका लागि ३१ करोड रहेको थियो, आयोजनाहरु अघि बढाउँदा खर्च पनि राम्रो भएको छ। आयोजनाहरु मध्ये खानेपानीलाई प्रमुख प्राथमिकतामा राखेर अघि बढेका छौं ।
अब एकै छिन राजनीति प्रसंगतिर लागौं । आगामी आम निर्वाचनको लागि तपाईको व्यक्तिगत वा पार्टींको रणनीतिक योजना के छ ?
पहिला निर्वाचित भएर जे जति काम गरौं अनुभव बटुल्यौं वास्तवमा त्यो भनेको एउटा नीति, विधि र सिद्धान्तमा हिड्ने कार्यविधि बनेको मेरो अनुभव रहेको छ, त्यसबाट काम छिटो गर्न सक्यौं, समन्वय गर्न, आयोजना कार्यान्वयन गर्न सक्यौं, पूर्णता दिलाउन र वडाको विकास गर्न सक्यौं । अर्को पाटो भनेको यसरी वडाको सम्पूर्ण विकास गर्नका लागि वडावासी अर्थात् स्थानीयको भूमिका पनि अहम् हुन्छ भनेर पनि मैले बुझ्न पाँए ।
हाम्रो वडा भनेको शहरउन्मुख क्षेत्र हो, यस्तो क्षेत्रमा ज्यादा काम गर्न सक्ने व्यक्तित्व नै सफल हुन्छ, गफमात्र गरेर काम नगर्ने व्यक्तिलाई स्थानीयले विश्वास गर्देनन् । त्यसैले हाम्रो टिमले काम गर्यौं, मलाई वडाबासीले विश्वास गर्नुभएको छ । यहाँ कुनै पार्टीको चिन्हको, वा अन्य कुनै हावादारी गफको भन्दा काम गर्ने व्यक्तिलाई प्रष्टरुपमा जनताले पहिचान गर्नु भइसकेको छ, त्यसैले गर्दा यस वडाका लागि तथा नगरपालिका लागि म योग्य व्यक्तित्व हो भनेर सबैलाई थाहा छ ।
मेरो विचारमा राजनीति भनेको विशुद्ध सेवाभावले समाज सेवा गर्ने हो, राजनीतिबाट कसैले कमाउने वा अन्य आकांक्षा राख्छ भने त्यो राजनीतिक व्यक्तित्व हुन सक्दैन यसमा दृढ छु । व्यक्तिगत, सामुहिक, क्षेत्रगत हितको दुष्प्रयास गर्छ भने त्यो सफल हुन सक्दैन । राजनीति भनेको आफूसँग भएको दिएर सामाजिक सेवा गर्ने व्यक्तित्व नै राजनीति गर्न सक्दछ भने महत्वकांक्षी व्यक्तित्वले राजनीति गर्न सक्दैन। हामी नेपालमा जन्मेका छौं, नेपालको वास्तविक चित्रण गर्न सक्ने एउटा स्थानीय तह हाँकेर प्रदेश र संघसँग पहुँच पुर्याउन सक्ने व्यक्तित्वको भविष्य राम्रो छ र जनताहरुले त्यस्तो व्यक्तित्वहरुलाई निर्वाचित गराउने, विश्वास गर्ने वातावरण मुलुकमा निर्माण भएको छ र विकास निर्माणको काम, आधारभूत आवश्यकताको काम गर्ने व्यक्तिलाई विश्वास गर्ने गर्छन् त्यसैले त्यस्तो व्यक्ति अन्तर्गत पर्ने र सबैको मन जित्ने कोसिस गर्दैछु । तत्कालका लागि भने हामीले त्यस्तो रणनीतिक हिसाबले कुनै योजना बनाएका छैनौं ।
अहिले जुन चुनाव चिन्ह जुन पार्टीबाट निर्वाचन जितेर आउनुभयो ? अहिले त्यो अवस्था छैन, कम्युनिष्ट पार्टी फुट्नुले यसको सामाजिक असर कस्तो पर्ला ?
जब कम्युुनिष्ट पार्टीहरु विजयी हुन्छन्, बहुमत प्राप्त गर्छन् र उत्कृष्ट भन्दा उत्कृष्ट काम गर्ने मौका पाँउछन् त्यसको उदाहरण अहिलेको परिप्रेक्ष पनि हो । त्यतिखेर आन्तरिक शक्ति बाह्य शक्ति, खराब व्यक्ति, मन नमिलेका साथीहरुले गर्दा पक्कै पनि केहि समयका लागि पार्टी विभाजित भएको छ । हामी जस्ता युवाहरु सेवाभावले राजनीति गर्ने देशलाई उन्नतितर्फ लाग्न जतिसक्दो छिटो पार्टी एकता भएर जनतालाई सुख सुविधा दिएको हेर्न मन छ र मेरो व्यक्तिगत विचारमा हाम्रा नेतृत्व वर्गले त्यस विषयमा सोच्नु हुनेछ । केहि समयको लागि पार्टी विभाजित भएको जस्तो देखिए पनि जति सक्दो चाँडो एकताबद्ध भएर पार्टी अघि बढ्ने छ र मेरो पनि शुभेच्छा छ र कम्युनिष्टहरुको वर्चस्व र कम्युनिष्टहरुको नेतृत्वमा मुलुकमा अमनचयन शान्ति स्थापना हुनेछ भन्ने सन्देश पक्का पनि दिनेछ ।
त्यसोभए तपाई एउटा जनप्रतिनिधि भएको हुँदा तपाई जनता, सरकार र पार्टी को सँग बढी उत्तरदायी हुनुहुन्छ ?
सामाजिक सेवाभाव राखेर राजनीति गर्नेे व्यक्तित्व पहिला जनताप्रति उत्तरदायी हुनैपर्छ भन्ने मेरो विचार हो । हामी चाँहि स्थानिय तहमा निर्वाचित भएको हुँदा हाम्रो पहिलो प्राथमिकता स्थानीय तह हुनुपर्छ । स्थानीय तहमा रहेका हरेक प्रकारको नागरिकको आवश्यकता बुझ्नुपर्छ । त्यसपछि देश अनि पार्टीको आवश्यकता बुझ्नुपर्छ सोहि अनुरुप जनप्रतिनिधि पनि रहनु पर्छ ।
त्यसो भए वडामा कति प्रतिशत विकास काम गर्नुभयो ?
मैले अर्थात् हामीले करिब ८५ प्रतिशत विकासको काम गर्न सक्यौं । भौतिक पूर्वाधारमा हामी शतप्रतिशत सफल भयौं शैक्षिक क्षेत्रमा पनि उच्च सफलता प्राप्त गरौं सामाजिक सद्भावमा हामी धनी नै छौं । राजनीतिक दलहरुसँग सौहार्दतापूर्ण वातावरण सदैव छ । तर हामीले खानेपानीको काम भने गर्न सकेनौं । तीन हजार घरधुरीलाई खानेपानीको अभाव छ त्यो समस्या अहिले हाम्रो सामुन्ने रहेको छ ।
अबको करिब ४/५ महिनामा गर्न बाँकी र वडाले आँटेका कामहरु के के छन् ?
करिब ७० वटा काम गर्न बाँकी छ जसमा आज नै सात वटा काम गरेका छौं । सडक निर्माण, ढल निर्माण, वडा कार्यालय निर्माणको काम सम्पन्न गछौं । खानेपानी बाहेक अन्य सम्पुर्ण काम सम्पन्न गर्ने छौं । हामी काम गर्ने व्यक्तित्व भएको हुँदा अबको बाँकी अवधि हाम्रा लागि धेरै समय हो र यस अवधिमा विभिन्न आयोजनाहरुको निर्माण सम्पन्न हुनेछ ।
जेष्ठ नागरिक सम्मान, महिला उद्यमशीलता, साक्षर कार्यक्रम, युवा जागरण र क्रियाशील बनाउने कार्यक्रम, बालबालिकाको अवस्था सुधार, सहकारीको कार्यक्रम लगायत थुप्रै जनपक्षीय कार्यक्रम राखेको छ, जसले भोलिका दिनमा वडा नम्बर ४ विकसित, सुविधायुक्त सभ्य वडा बन्ने छ भन्ने मेरो विश्वास छ ।